काठमाण्डौ । मर्चेन्ट बैंकर एशोसियशन अफ नेपालका नवनियुक्त पदाधिकारीहरुको प्रतिनिधिमण्डलले बोर्ड अध्यक्ष  भिष्मराज ढुंगानासँग आज शुक्रबार बोर्डको कार्यालय जावलाखेलमा भेट गरेको छ ।

प्रतिनिधिमण्डलको नेतृत्व मर्चेन्ट बैंकर एशोसियशन अफ नेपालका नवनियुक्त अध्यक्ष  मेख बहादुर थापाले गरेका थिए । 

उक्त अवसरमा बोर्ड अध्यक्ष भिष्मराज ढुंगानाले एशोसियशनका नवनियुक्त पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । भेटमा एशोसियशनका नवनियुक्त अध्यक्ष मेख बहादुर थापाले धितोपत्र बजार विकास र विस्तारका लागि मर्चेन्ट बैंकरले निभाउनुपर्ने भूमिकाका सन्दर्भमा एशोसियशनले पहलकदमी गर्ने बताउँदै बोर्डको विशेष सहयोगको अपेक्षा गरे । त्यस्तै, एशोसियशनका निवर्तमान अध्यक्ष  ध्र्रुव तिमिल्सिनाले धितोपत्र बजार सम्बन्धी नीति निर्माण गर्दा एशोसियशनसँग छलफल गरी बोर्डले उचित स्थान दिएको स्मरण गर्दै आगामी दिनमा समेत यसको निरन्तरता रहने विश्वास व्यक्त गरे । 

भेटका क्रममा बोर्ड अध्यक्ष  ढुंगानाले मर्चेन्ट बैंकर थप व्यवसायिक हुनुपर्ने तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नुपर्ने बताए । धितोपत्र बजारमा हालसालका दिनमा सकारात्मक परिवर्तन भइरहेको बताउँदै उनले यस बजारलाई सूचना प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए । त्यस्तै, उनले बजार सहभागीहरुले लगानीकर्ताको हितलाई मध्यनजर गर्दै व्यवसाय संचालन गर्नुपर्ने बताए । उक्त भेटमा बोर्डका कार्यकारी निर्देशक निरज गिरीले मर्चेन्ट बैंकिङ्ग र बजार विकासका सम्बन्धमा आफ्नो धारणा राखेका थिए ।