काठमाण्डौ । बैंकर्स संघले केही बैंकको दवाबमा परेर मुद्धती निक्षेपको ब्याजदरको सीमा हटाइदिएपछि र बचतको ब्याजदर समेत बढाउने निर्णय गरेपछि सुरु भएको ब्याजदर वृद्धिको लिगलिगे दौडका कारण बुधबार सेयर बजारमा पहिरो गएको छ । 

ब्याजदर घट्ने आशामा बसेका लगानीकर्ता बैंकहरुले धमाधम ब्याजदर बढाउन थालेपछि ऋणको ब्याजदर समेत बढ्ने निश्कर्षसहित निराश बन्दा बजारमा उच्च बिक्री चाप देखिएको हो । 

त्यसै पनि लामो समयदेखि घटिरहेको बजारमा मंगलबार दोहोरो अंकको वृद्धि देखिए पनि त्यो वृद्धि बैंकर्स संघको निर्णयका कारण टिक्न सकेन । अन्ततः बुधबार एकैदिन लगानीकर्ताले करोडौं गुमाएका छन् । 

यो दिन नेप्से परिसूचक २२.८ अंकले घटेर १११८.१९ अंकको विगत साढे ३ वर्षकै न्यून विन्दूमा सीमित बन्न पुगेको छ । 

यो दिन राम्रा कम्पनीको सेयरमा उच्च बिक्री चाप देखिएका कारण सेन्सेटिभ इण्डेक्समा ४.९१ अंकको गिरावट देखियो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स पनि १.५८ अंकले घट्यो । 

यो दिन निर्जीवन बिमा समूहमा निकै ठूलो पहिरो गयो । यो समूहको परिसूचक १८५.२६(३.६४ प्रतिशत) अंकले घट्न पुग्यो ।  अन्य समूह सबैभन्दा धेरै ३.७७ प्रतिशतले घटेको यो दिन बैंकिंग समूह १५.२२ अंक, विकास बैंक समूह ३३.८८, जीवन बिमा समूह ९६.०१, माइक्रोफाइनान्स समूह ३०.४१, जलविद्युत समूह २१.२४, होटल समूह १०.७३ र बित्त समूहमा २.४ अंकको पहिरो गयो । यो दिन उत्पादनमूलक समूहमा २५.४७ अंकको पहिरो गयो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५६ कम्पनीका ११ लाख ६८ हजार २ सय ३३ कित्ता सेयर ३७ करोड ७२ लाख ८६ हजार २ सय ७९ रुपैयाँमा किनबेच भयो । 

नेपाल बैंक लिमीटेडले यो दिन पनि सबैभन्दा बढी ३ करोड ५४ लाख बढीको कारोबार गर्यो । ग्लोबल आइएमई बैंकले २ करोड ८७ लाख बढीको कारोबार गरेको यो दिन मिर्मिरे माइक्रोफाइनान्सको २ करोड ५९ लाख बढीको संस्थापक सेयर किनबेच भयो भने एनएमबी बैंकले २ करोड ३७ लाख बढीको कारोबार गरेको बजारमा नवील बैंकको १ करोड २७ लाख बढीको संस्थापक सेयर पनि किनबेच भयो । 

एनआइसी एशिया बैंकले १ करोड २४ लाख बढीको कारोबार गरेको यो दिन सानिमा बैंकले १ करोड २२ लाख, कुमारी बैंकले १ करोड १३ लाख, प्रभू बैंकले १ करोड २ लाख र नेपाल लाइफ इन्स्योरेन्सले १ करोड १ लाख बढीको कारोबार गरे। 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन हाथ्वे फाइनान्सका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ५.७७ प्रतिशतले बढ्यो । 

गुमाउनेमा रादी जलविद्युत आयोजना अगाडि देखियो । यो कम्पनीको सेयर मूल्य ७ प्रतिशतको हाराहारीमा घट्यो ।