काठमाण्डौ । लगानीयोग्य रकम(तरलता) अभाव र त्यसपछि उत्पन्न ब्याजदर आतंकले सेयर बजारको चमकलाई खाइदिएको छ । यहीकारण बजार तीव्र गतिमा घट्न थालेको छ । मंगलबार दोहोरो अंकले पहिरो गएको बजारमा बुधबार कारोबारका आधा समयसम्म भीषण पहिरो गइसकेको छ । 

दिउँसो १ बजेसम्म सेयर बजार परिसूचक(नेप्से) २०.४२ अंकले घटिसकेको छ । बजार परिसूचक घटेर तीन महिनायताकै भीषण पहिरो व्यहोरिरहँदा लगानीकर्ता अत्तालिएका छन् । सेयर बजार घट्दो क्रममा रहेको संभावित घाटाबाट बच्न भन्दै सेयर बिक्रीको चाप समेत ह्वात्तै देखिएको छ । तर, यस्तो अवस्थामा अत्तालिएर सेयर बेच्नुु गलत काम हो । 

बजार घटेको बेला राम्रा कम्पनीको सेयर खरीद गर्ने र बढेको बेला नाफा बुक गरेर बिक्री गर्ने लगानीकर्तालाई मात्र स्मार्ट लगानीकर्ता भन्न सकिन्छ । तर, नेपाली लगानीकर्ताहरुमा ज्ञानको अभावले बजार घटिरहँदा संभावित जोखिमबाट बच्न भन्दै सेयर बिक्री गर्नेको होड नै चलेको छ । 

यही कारण नेप्से परिसूचक घटेजस्तै १ बजेसम्म ४३ करोडको हाराहारीमा कारोबार भइसकेको छ । यति धेरै कारोबार पहिलो हाफमा हुनुुले लगानीकर्ताहरुबीच सेयर बिक्रीको होड चलेको सहजै बुुझ्न सकिन्छ । 

दिउँसो १ बजेसम्म क वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ४.४९ प्रतिशतले घटिसकेको छ । यसको अर्थ क वर्गका कम्पनीहरुले धेरै गुमाएका छन् । यस्तो अवस्थामा राम्रा कम्पनीको सेयर सस्तोमा खरीद गर्ने स्वर्णिम अवसरलाई उम्कन नदिनूू नै स्मार्ट लगानीकर्ताका लागि श्रेयस्कर हुन्छ । 

दिउँसो १ बजेसम्म बैकिंग समूहमा १.४७ प्रतिशतको पहिरो गइसकेको छ । बिमा समूहमा १.२७, जलविद्युत समूहमा १.२१, माइक्रोफाइनान्स समूहमा १.१३, अन्य समूहमा २.७९ प्रतिशतले पहिरो गइसकेको छ । अन्य समूहको पहिरो पनि भीषण नै छ ।