काठमाण्डौ । बैंकहरुले ब्याजदर घटाउने छाँट नदेखाउँदा र घटिरहेको बजारमा एकपछि अर्को गर्दै सेयरको आपूर्ति बढ्दै गएका कारण यो साताको पहिलो कारोबार दिन पनि बजारले राम्रो प्रदर्शन गर्न सकेन । यो दिन नेप्से परिसूचक २.७८ अंकले घटेर ११७५.७२ को विन्दूमा समेटिन पुग्यो भने कारोबार रकम २० करोड माथि रह्यो । 

यो दिन ‘क’ वर्गका कम्पनीहरुमा बिक्री चाप देखिँदा सेन्सेटिभ इण्डेक्स ०.५७ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.१८ अंकको गिरावट देखियो । 

उत्पादनमूलक समूहमा १४.१७ अंकको बढोत्तरी भए पनि बाँकी सबै समूहको उपसूचकमा रातो पोतियो । 

यो दिन बैंकिङ समूह १.०३ अंकले घट्यो भने जीवन बिमा समूह १.८८, निर्जीवन बिमा समूह ४२.४८, माइक्रोफाइनान्स समूह १२.६२, होटल समूह ०.०४, विकास बैंक समूह ११.५, जलविद्युत समूह २.०६, बित्त समूह १.६१ र अन्य समूह २.७ अंकले घटे । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ४६ कम्पनीका ६ लाख ९ हजार २ सय ५७ कित्ता सेयर २० करोड ५५ लाख ५८ हजार ६ सय ४३ रुपैयाँमा किनबेच भयो । 

सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको ५ करोड ३२ लाख बढीको संस्थापक सेयर किनबेच भयो । यसैगरी, प्रभू बैंकको १ करोड २७ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा एनएमबी बैंकले ८० लाख, नागरिक लगानीकोषले ५८ लाख, नवील बैंकले ५६ लाख बढीको कारोबार गरे । मुक्तिनाथ विकास बैंकको ५४ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा बैंक अफ काठमाण्डूले ५३ लाख, एनएलजी इन्स्योरेन्सले ४२ लाख, स्ट्याण्डर्ड चार्टर्डले ४१ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन ङादी ग्रुप पावर लिमीटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ४.१९ प्रतिशतले वृद्धि भयो । बैंक अफ काठमाण्डूको लगानीकर्ताले ३.५८ प्रतिशतले सम्पत्ति बढाए । 

यो दिन कर्णाली डेभलपमेन्ट बैंक र आइएमई जनरल इन्स्योरेन्सका लगानीकर्ताले धेरै गुमाए । यी दुई कम्पनीको सेयर मूल्य क्रमशः ५.६६ र ५.६० प्रतिशतले घट्यो ।