काठमाण्डौ । बैंक तथा बित्तीय संस्थाले नेपाल राष्टबैंकको निर्देशनपछि ब्याजदर घटाउने निर्णय गरेसँगै यसले सेयर बजारका लगानीकर्तालाई उत्साहित बनाएको छ । 

ब्याजदर सिंगल डिजिटमा झार्ने निर्णयको सकारात्मक प्रभावले आइतबार बजार खुलेदेखि नै उछालको गतिमा दौडिरहेको छ । 

ब्याजदर घटेसँगै अर्थमन्त्रीबाट गठित उच्चस्तरीय अध्ययन कार्यदलले सेयर बजारका धेरै समस्या सम्बोधन हुने आशा पलाएसँगै लगानीकर्ताको मनोबल समेत बलियो बनेको दखिएको हो । 

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक १७.४६ अंकले बढिसकेको छ । सबै समूहको सूचकमा हरियाली छाएको छ । कारोबार खुलेको एकघण्टा पनि नभई कारोबार रकम २१ करोड माथि पुगेको छ । 

निर्जीवन बिमा समूह, जलविद्युत समूहमा उछालको गति देखिएको छ । विकास बैंक, बैंकिंग, जीवन बिमा र माइक्रोफाइनान्स समूह समेत १ प्रतिशत भन्दा बढीले माथि उक्लिसकेका छन् । 

यो अवधिसम्म सनराइज बैंकको ८ करोड १७ लाख बढीको संस्थापक सेयर किनबेच भएको छ भने छिमेक लघुवित्त र एनएमबी बैंकले १ करोड बढीको कारोबार गरिसकेका छन् । 

एनएमबी बैंकले अक्वायर गर्ने गरी छलफल प्रारम्भ गरेको भन्ने समाचारको प्रभाव गरिमा विकास बैंकको मूल्यमा परेको छ । यो बैंकको सेयर मूल्य ८.४२ प्रतिशतले बढिसकेको छ ।