काठमाण्डौ । आर्थिक वर्ष सकिन १५ दिन मात्रै बाँकी छँदा समेत तरलता अभावको समस्या उस्तै छ । यही समस्याको कारण बजारमा समेत नकारात्मक प्रभाव परिरहेको देखिएको छ । 

आर्थिक वर्षको अन्तमा लिएको मार्जिन लोन भुक्तानी गर्नुपर्ने, ब्याज भुक्तानी गर्नुपर्ने र कर समेत भुक्तानी गर्नुपर्ने बाध्यताका कारण लगानीकर्ताहरु घाटैमा समेत सेयर बिक्री गर्न बाध्य बनेका छन् । 

सेयर बजारको यो चाल असार महिनाभरि नै रहनसक्छ । यो अवधिमा लगानीकर्ताले ब्याज र करको जोहो व्यवस्थापन गर्नेछन् । यसका लागि हातमा पैसा नहुँदा सेयर बिक्रीबाटै आर्थिक वर्षको अन्तिम महिनामा सिर्जना हुने दायीत्वको व्यवस्थापन गर्नुपर्नेछ । 

हातमा भनेजति पैसा नहुँदा सेयर बिक्री गरेर मार्जिन लोन वा त्यसको ब्याज तिर्ने, करको समेत जोहो गर्ने बाध्यताका कारण बजारमा बिक्री चाप बढेको छ । यहीकारण आइतबार सेयर बजार परिसूचक(नेप्से) दोहोरो अंकले घटेको छ । 

नेप्से परिसूचक १२.२७ अंकले घटेर १२४४.८९ को विन्दूमा सीमित भएको यो दिन राम्रा र बलिया कम्पनीमा समेत बिक्री चाप देखिएका कारण सेन्सेटिभ इण्डेक्स १.९२ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स ०.९५ अंकले घटेको छ । 

यो दिन नेप्सेका सबै समूहको उपसूचकमा रातो पोतिएको छ । 

बैंकिङ समूह ११.८५ अंकले घटेको यो दिन होटल समूहमा ५.२६ अंक, विकास बैंक समूहमा १२.६९ अंक, जलविद्युत समूहमा १३.१३ अंक, बित्त समूहमा २.९ अंकको गिरावट आएको छ । 

निर्जीवन बिमा समूहमा ५९.९७ अंकको गिरावट आएको यो दिन जीवन बिमा समूह ५८.२९ अंक, माइक्रोफाइनान्स समूह १५.३९ अंक, उत्पादन तथा प्रशोधन समूह ३६.३८ अंक, म्युचुअल फण्ड समूह ०.०३ अंक र अन्य समूहको सूचक ३.३९ अंकको गिरावट आएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १७२ कम्पनीका २३ लाख ६१ हजार ५०० कित्ता सेयर ६४ करोड ५० लाख ९९ हजार ३७ रुपैयाँमा कारोबार भएको छ । 

ग्लोबल आइएमई बैंकको १० करोड ३८ लाख बढीको संस्थापक सेयर किनबेच भएको यो दिन नेपाल बैंकले ६ करोड ३९ लाख, शिवम सिमेन्टले ५ करोड ८० लाख, प्रभू बैंकले ३ करोड ४१ लाख, एनसीसी बैंकले ३ करोड २५ लाख,सिद्धार्थ बैंकले २ करोड ६६ लाख बढीको सेयर किनबेच भएको छ । 

यस्तै, हिमालयन डिस्टीलरीले २ करोड ६० लाख बढीको कारोबार गरेको यो दिन नवील बैंकले २ करोड २४ लाख, एनआइसी एशियाले १ करोड २७ लाख र सिभिल बैंकले १ करोड १४ लाख बढीको कारोबार गरेका छन् । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन बजारमा स्वाभिमान लघुवित्तका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो ।

रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा सबैभन्दा बढी गिरावट आयो । यो कम्पनीको सेयर मूल्य ७ प्रतिशतको हाराहारीमा घट्यो।