– अर्जुन तिमिल्सिना

काठमाण्डौ । ब्रोकरहरुले सञ्चालन गर्ने भनेको नयाँ टीएमएस आउँदो मंसिरभित्रै सञ्चालनमा आउने भएको छ। 

स्टक ब्रोकर्स एसोसियसन अफ नेपालका अध्यक्ष सन्तोष मैनालीले नयाँ टीएमएस ढिलोमा आउँदो मंसिरभित्रै सञ्चालनमा आउने जानकारी दिएका हुन्। ‘अब नयाँ टीएमएस सञ्चालनका लागि लेटर अफ इन्टेन्ड (एलवोआई) आवश्यक छ र यो नेप्सेले माग्ने छ’, उनले भने, उनले भने, ‘त्यसपछि एपीआई सिस्टम जडान हुन केही समय लाग्नेछ।’

एपीआई सिस्टम जडान भएपछि एक महिना परीक्षणकाल हुने मैनालीले जानकारी दिए। ‘नयाँ टीएमएस सञ्चालनमा आएपछि भने मार्जिन कारोबारको प्रणालीगत अवरोध हुने छैन’, उनले भने, ‘तर, मार्जिन कारोबारका लागि नीतिगत अप्ठ्यारा भने नियमक निकायले फुकाइदिनुपर्ने हुन्छ।’

यसैबीच नयाँ टीएमएस सञ्चालनका लागि ३४ वटा ब्रोकरले नेप्सेमा आवेदन दिएका छन्। नयाँ टीएमएस सञ्चालनका लागि आवेदन दिने आज भदौ १५ गते अन्तिम दिन रहेको थियो। अन्य १६ वटा ब्रोकरले भने पुरानै नेप्सेकै टीएमएस चलाउने भन्दै निवेदन दिएको नेप्सेका एक अधिकारीले जानकारी दिए।