-अनन्त्य सुन्दर

काठमाण्डौ । नेपाली सेयर बजारमा अनलाइन कारोबार गर्ने लगानीकर्ताहरूको संख्या बढेसँगै टिएमएसमा बारम्बार समस्या आउने गरेको छ। लगानीकर्ताहरू ब्रोकरले टिएमएस बिगारेर चलखेल गरे भन्नेसम्मका आरोप लगाउँछन् । तर ब्रोकरहरू भने आफ्नै समस्यामा छन्। ब्रोकरहरू महिनौँदेखि आफ्नै टिएमएसको प्रतीक्षामा छन्। भाद्रबाट सञ्चालनमा आउने भनिएको टिएमएसको प्रक्रिया अहिलेसम्म प्रतिवेदनमै अड्किएको छ।

ब्रोकरहरूले अहिलेसम्म टिएमएस निर्माणका लागि ७ करोड खर्च गरिसकेका छन् । सफ्टवेयर कम्पनीहरूबाट ‘हामीले बनाउँदै गरेको सिस्टम सञ्चालन हुन्छ कि हुँदैन?’ भनी ब्रोकरहरूको फोनको घण्टी बारम्बार बज्न सुरु भइसकेको छ। नेप्से, नेपाल धितोपत्र बोर्ड जस्ता नियामक निकायहरूको ढिलासुस्तीका कारण अहिले लगानीकर्ता साथै ब्रोकर दुवै अन्यौलमा छन् । 

नियामक निकायहरूमा सिस्टम बनाउन ब्रोकर, नेप्से साथै अन्य भेन्डरहरू कसलाई जिम्मा दिने ? भन्ने बारेमा नै अन्यौलता देखिन्छ। 

ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीका अनुसार बजारमा लगानीकर्ताहरूको संख्या बढेसँगै प्रणालीमा जोखिम पनि बढेको बताउँछन्। मैनाली भन्छन्, ‘नियामक निकायहरूले दुई दिनमा तयार हुने पोलिसीलाई महिनौ लम्बाएको कारण बजार थप जोखिमपूर्ण हुँदै गएको छ।’

अहिले नेप्से र सेबोन नेतृत्वविहीन छन्  । त्यसैले पनि ब्रोकरको आफ्नै टिएमएस सञ्चालनमा आउनेमा थप ढिलाइ हुने ब्रोकर साथै लगानीकर्ताहरूको बुझाई छ। 

नेपाल धितोपत्र बोर्ड (सेबोन) का प्रवक्ता निरज गिरीकाअनुसार नेप्सेले ब्रोकरको टिएमएस साथै एपीआई पोलिसीको बिषयमा सेबोनको सञ्चालक समितिमा छलफल भइसकेको छ । गिरी भन्छन्, ‘नेप्सेले पठाएको प्रतिवेदन सञ्चालक समितिमा छलफल भयो। दुई–तीनवटा बुँदाहरूको संशोधनका लागि अहिले पुनः नेप्सेमा पठाइएको छ।’ उनले उक्त बुँदाहरूमा के छ ? भन्नेबारे खुलाउन भने चाहेनन्।

नियामक निकाय, नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले सेबोनले नेप्सेले पठाएको प्रतिवेदन संशोधनका लागि पुनः नेप्सेमा पठाएको जानकारी दिए।

पराजुली भन्छन्, ‘नेप्सेले पठाएको प्रतिवेदनमा भेण्डरहरूको मापदण्ड र प्रतिस्पर्धा चर्को भएका कारणले सेबोनले संशोधनका लागि नेप्सेमा पठाएको हो।’

नेप्से नेतृत्वविहीन भएकाले ब्रोकरको टिएमएस सञ्चालनमा आउने थप ढिलाइ हुने देखिएको छ। अहिले दैनिक रूपमा अनलाइन कारोबार गर्ने लगानीकर्ताहरूको सङ्ख्या बढ्दो छ। ब्रोकरको टिएमएस सञ्चालनका लागि लगानीकर्ता साथै ब्रोकरहरूले नियामक निकायहरूलाई बारम्बार दवाब दिइरहेका छन्। तर नियामकहरू भने प्रतिवेदन एक ठाउँबाट अर्कोमा पठाउनमै व्यस्त छन्। ‘केही सीमित व्यावसायिक समूहको व्यक्तिगत स्वार्थको कारण ब्रोकरको टिएमएस सञ्चालनमा ढिलाइ भइरहेको छ।’ नेप्सेस्थित एक स्रोतले भन्यो–‘नियामक निकायहरूमा अहिले उनीहरूको दबाब र लबिङ चलिरहेको छ। त्यसकै कारण नियामक निकायहरूलाई काम गर्न गाह्रो भइरहेको छ।’ 

नेप्सेको कार्यविधि साथै शुल्कमा कडाइको कारण नै उक्त समूह हो। उक्त समूहमा केही व्यवसायिक घरानादेखि नेप्से सेबोनका कर्मचारीसम्म छन् । यो समूहको नेतृत्व सिडिएससीको तत्कालीन सीइओ देवप्रकाश गुप्ताले गरिरहेका स्रोत दाबी गर्छ । ‘उक्त समूहको बजारमा ठूला इन्भेष्टमेन्ट कम्पनी हुनुको साथै बजारमा लगानी समेत निकै ठूलो छ।’ स्रोतले भन्या–‘टिएमएस त्यही समूहले मात्र ल्याउन पाउने वातावरण सिर्जना गरिदैछ।’ 

गुप्ता नेतृत्वको समूह आफूले गरेको लबिङमा सफल भएमा बजारको डेटा उनीहरूकै हातमा हुन्छ। त्यसो भयो भने बजारमा उनीहरुले सजिलै नियन्त्रण कायम गरी आफू अनुकुल उतारचढाव गराउन सक्नेछन् । यो समूहको चलखेललाई नरोकिए लाखौं लगानीकर्ताको सहभागिता रहेको नेपाली पूँजीबजार जोखिममा पर्ने र निश्चित व्यक्तिहरुको नियन्त्रणमा सम्पूर्ण बजार पुग्ने स्रोतहरु चिन्ता छ ।