काठमाण्डौ । लामो प्रतीक्षापछि ब्रोकर कम्पनीलाई आफ्नै कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सञ्चालनको बाटो खुलेको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले धितोपत्र कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सञ्चालन कार्यविधि, २०७९ तयार गरेसँगै ब्रोकर कम्पनीहरुले आफ्नै टीएमएस सञ्चालनको बाटो खुलेको हो। 

आफ्नै टीएमएस सञ्चालनका लागि ब्रोकर कम्पनीले अब नेप्सेको प्रणालीसँग जडान गर्न धितोपत्र कारोबार सञ्चालन (तेस्रो संशोधन) विनियमावली, २०७९ बमोजिम विवरण खुलाई निवेदन दिनुपर्नेछ। यो कार्यविधि लागू हुँदाका बखत नेप्सेको टीएमएस प्रयोग गरिरहेका कारोबार सदस्य (ब्रोकर)ले यो कार्यविधि लागू भएको ३० दिनभित्र विनियमावलीमा तोकिएकोबमोजिम दस्तुरसहित निवेदन दिनुपर्नेछ। 

कारोबार सदस्यले पेस गरेको पेस गरेको सूचना प्रविधिसम्बन्धी पूर्वाधार तथा सोसम्बन्धी विवरण नेप्सेले ३० दिनभित्र निरीक्षण तथा चेकजाँच गर्नेछ र आवश्यक परेको खण्डमा अन्य विवरणहरु पनि माग गर्न सक्नेछ।

कारोबार सदस्यले आफूसँग भएको प्राविधिक क्षमता, जनशक्तिको व्यवस्था, प्रणाली विकास र खरिद परियोजनाको विस्तृत विवरण पेस गर्नुपर्नेछ। उनीहरुले सफ्टवेयरको प्राविधिक तथा सुरक्षा विशेषताहरुबारे नेप्सेमा तोकिएको दिनमा प्रस्तुतीकरण गर्नुपर्नेछ। 

नेप्सेले उपयुक्त देखेमा कारोबार सदस्यलाई एक महिनाभित्र प्रणाली खरिद वा विकास गर्न सैद्धान्तिक सहमतिका साथै प्रणाली जडानसम्बन्धी एपीआई डकुमेन्ट प्रदान गर्नेछ। कारोबार सदस्य र प्रणाली विकास गर्ने वा उपलब्ध गराउने कम्पनीबीचको सम्झौता गरी नेप्सेलाई जानकारी गराउनुपर्नेछ। सम्झौतामा कारोबार प्रणालीको स्पेसिफिकेसन, वार्षिक मर्मत सम्झौता, बिजनेस कन्टिन्युटी प्लान, ट्रबल सुटिङलगायत प्राविधिक सुरक्षासम्बन्धी विषय समावेश हुनुपर्नेछ। 

नेप्सेले एक कारोबार सदस्यका लागि प्रदान गरिएको एपीआई अर्को सदस्यले प्रयोग गर्न नपाउने व्यवस्था गरिएको छ। कम्तीमा एक महिनाको परीक्षणपश्चात प्रणालीमा कुनै समस्या नदेखिएमा उक्त प्रणाली नियमित सञ्चालनको अनुमति दिइने नेप्सेले जनाएको छ। 

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष सन्तोष मैनालीले नेप्सेले टीएमएस सञ्चालन कार्यविधि नेप्सेले पास गरेको ब्रोकरले आफ्नै टीएमएस सञ्चालनमा ल्याउने बाटो खुलेको बताउँछन्। ‘अब ब्रोकर कम्पनीहरुले २–४ दिनभित्रै छुट्टाछुट्ट टीएमएस सञ्चालनका लागि आवेदन दिनेछन्’, उनले भने, ‘टीएमएस सबैको एउटै हुनेछ तर नेप्सेले एपीआई पोलिसी भने छुट्टाछुट्टै दिनेछ।’

मैनाली प्रक्रिया धेरै पूरा गर्नुपर्ने भएकोले साउनबाटै ब्रोकर आफ्नै टीएमएस सञ्चालनमा आउने सम्भावना कम रहेको छ। ‘किनकि टीएमएस सञ्चालनको अनुमति पाए पनि १ महिना त परीक्षण नै गर्नुपर्ने व्यवस्था छ, त्यसपछि पनि नेप्से ढुक्क भएपछि मात्रै नियमित सञ्चालनका लागि अनुमति दिनेछ’, उनले भने, ‘त्यसैले आउँदो दसैँअघि ब्रोकरहरुको आफ्नै टीएमएस पूर्ण रुपमा सञ्चालनमा आउन सक्छ।’