काठमाण्डौ । परिसूचक र कारोबार रकमको उल्लेख्य वृद्धिसँगै सेयर बजारमा पछिल्लो समय ठूलो आकर्षण बढेको देखिन्छ । तर सेयर खरिदबिक्रीका लागि तोकिएका मध्यस्थकर्ता अर्थात् स्टक ब्रोकरहरुका कारणसमेत सेयर कारोबार नै ठप्प हुने अवस्था समेत सिर्जना हुन थालेको छ ।
धितोपत्र दोस्रो बजारमा सिण्डीकेट लादेका ५० ब्रोकर कम्पनीहरुकै कारोबार सीमा(लिमिट )अपुग भई हिजो आइतबार सेयर किनबेच नै हुन नपाएको लगानीकर्ताहरुले गुनासो गरेका छन् ।
हिजो आइतबार दिउँसो १ बजेतिर देखि न्यूप्लाजामा रहेको स्टक ब्रोकर नम्बर २६ एशियन सेक्युरिटीज, स्टक ब्रोकर नम्बर ६ अग्रवाल सेक्युरिटीजबाट दिउँसो २ बजेदेखि, स्टक ब्रोकर नम्बर १३ थ्राइभ ब्रोकरेज हाउस लगायतका अन्य ब्रोकरहरुबाट ग्राहक(सेयर कारोबारी)ले सेयर किनबेच गर्न पाएनन् ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार स्टक ब्रोकरहरुले दैनिक रुपमा सेयर कारोबार गर्न नेप्सेमा धरौटी तथा ग्यारेन्टी रकम राख्नुपर्छ । ब्रोकरले धरौटीबापत धरौटी रकमको २५ गुणासम्म सेयर किनबेच गर्न मिल्ने नेप्सेका प्रवक्ता मुराहरि पराजुली बताउँछन् । सो २५ गुणासम्मको सीमा पार गरेको खण्डमा उक्त ब्रोकर कम्पनीलाई सिस्टमले स्वतः ब्लक गर्ने गर्दछ ।
यही समस्याका कारण माथि उल्लेख गरिएका ब्रोकरहरुबाट लगानीकर्ताले कारोबार समय सकिनुअघिदेखि नै सेयर किनबेच गर्न नपाएका हुन् ।
नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार ५० ब्रोकर कम्पनीकै सिण्डीकेटका कारण कारोबार समयको बीचमा सेयर कारोबार गर्र्ने लगानीकर्ताहरुलाई बञ्चित गराइनु गलत भएको बताउँछन् । बुलिस मार्केट रहेको बेला आउने अवसरलाई लगानीकर्ताहरुले गुमाउन सक्ने भएकाले पूँजी, स्रोत तथा साधनले बलिया बैंकका सहायक कम्पनीलाई नै ब्रोकर लाइसेन्स दिइनुपर्ने उनको भनाइ छ ।
अब निकट समयमा नै दैनिक १० अर्ब रुपैयाँभन्दा बढी कारोबार हुने माहौल बन्दै गइरहेकाले हालको ब्रोकर क्षमता अपुग हुने दाबी गरेका उनले देशभर सहजपूर्ण तवरले हजारौं लगानीकर्ताहरुलाई सेयर कारोबार गर्न बैंकका सहायक कम्पनीलाई अविलम्ब ब्रोकर लाइेसन्स दिन आवश्यक रहेको बताए ।
पछिल्लो समयमा बुलिस ट्रेण्डमा कुदिरहेको बजारमा अवसर छोप्न कयौं लगानीकर्ताहरुको उत्साहपूर्ण उपस्थिति र कारोबार रकमको परिमाण हालको ब्रोकरको क्षमताले थेग्नै नसक्ने बजार जानकारहरु दाबी गर्छन् ।
स्रोतका अनुसार धितोपत्र दोस्रो बजारमा हुने दैनिक कारोबारमध्ये करिब आधा कारोबार स्टक ब्रोकरहरुले गर्ने गर्छन् ।
हाल बढ्दो बजारमा ब्रोकर कमिसनका अलावा बजारबाट अल्पकालीन मुनाफा पाउने लालचमा स्वयम् ब्रोकरहरु नै सेयर किनबेच लाग्दा लगानीकर्ताले पाउने कारोबार सीमा अपुग भएको हो ।
उसो त दैनिक कारोबार रकम ५-६ अर्ब नाघिरहेकाले राफसाफ चक्र(३ कार्यदिन)भित्र वित्तीय स्रोत जुटाउन हाल ब्रोकरहरुलाई निक्कै हम्मेहम्मे परेका कारण समेत नेप्सेमा धरौटी अपुग हुने समस्या सिर्जना भएको स्रोतको भनाई छ ।
बढ्दो बजारमा लगानीकर्ताहरुले सेयर किन्ने तर होल्ड गर्ने परिपाटीले गर्दा समेत भुक्तानी लेनदेन प्रभावित भई ब्रोकर कम्पनीहरुलाई पैसाको धौधौ परेको स्रोत जिकिर गर्छ ।
हाल सेयर बिक्रीका लागि एक ब्रोकर एक डिम्याट खाताको व्यवस्था भएपछि बजारको अनिश्चित अवसर तथा चूनौती ग्रहण गर्न मल्टीपल बीओआइडीको व्यवस्था गरेमा यो समस्याको अल्पकालीन समाधान हुने जानकार बताउँछन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19