काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा स्वर्णलक्ष्मी सेक्युरिटिज प्रालि (ब्रोकर नं. ३७) विरुद्ध कर्मचारीहरुमाथि श्रमशोषण गरेको आरोपमा उजुरी परेको छ। 

काठमाण्डौको पुतलीसडकस्थित यो ब्रोकर हाउसविरुद्ध कर्मचारीहरुले नै आज सेबोन पुगेर उजुरी दिएका हुन्। उजुरीमा आफूहरु हेपिएको कर्मचारीहरुले उल्लेख गरेका छन्।

मासिक पारिश्रमिक माग गर्दा उल्टै आफूहरुमाथि दुव्र्यहार हुने गरेको उजुरीमा जनाइएको छ। ‘कार्यालय समयमा सधैँजसो मानसिक यातना गरिरहने तथा जागिरबाटै निकालिदिने धम्की दिने काम भइरहेको छ’, उजुरीमा भनिएको छ, ‘हामीले धितोपत्र बोर्डको नियमानुसार कुनै पनि सेवासुविधा पाएका छैनौँ।’

कर्मचारीहरुमाथि भएको दुव्र्यहारका विषयमा गत चैत ६ गते बैठक बसेर छलफल गरी समाधान गर्न आग्रह गर्दा पनि सञ्चालकबाट कुनै जबाफ नपाएको उजुरीमा जनाइएको छ। ‘त्यसपछि हामीले चैत ७ र ८ गते कार्यालयमै कार्य ठप्प पारी बैठकका लागि धर्ना दियौँ’, उजुरीमा भनिएको छ, ‘तर कुनै आश्वासन तथा सुनुवाइ भएन।’

पीडित भनिएका कर्मचारीहरुले आजै उक्त उजुरीपत्र नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा बुझाएका छन्। उजुरी दिने कर्मचारीहरुमा रितेश शाक्य, कविता लामा, अन्जना दवाडी, अन्जिता प्रधान र नवीन न्यौपाने छन्। 

पीडित भनिएकामध्ये एक रितेश शाक्यले एक वर्षभन्दा बढी काम गरिसकेका कर्मचारीहरुको सञ्चय कोषबापतको रकम पनि जम्मा नगरिदिने गरेको गुनासो पोखे। ‘सञ्चालकले सञ्चय कोषबापत रकम जम्मा गरिदिन्छौँ भनेर झुलाइरहन्छन्’, उनले भने।

अन्य ब्रोकर हाउसको तुलनामा यो ब्रोकर हाउसले कम तलबमा कर्मचारीहरुलाई काम गराइरहेको शाक्यले बताए। ‘अरु ब्रोकर हाउसमा नाफा हुँदा बोनस बाँड्ने चलन छ, हामीले पनि त्यस्तो बोनस अहिलेसम्म पाएका छैनौँ’, उनले भने।

यस विषयमा स्वर्णलक्ष्मी सेक्युरिटिजका सञ्चालक धर्मराज सापकोटले आफूहरुले कर्मचारीहरुमाथि श्रमशोषण नगरेको दाबी गरे। ‘हामीबाट कर्मचारीहरुमाथि कुनै किसिमको दुव्र्यवहार र अन्याय भएको छैन’, उनले भने। 

कर्मचारीहरुलाई पनि तलब समयमै दिने गरेको सापकोटको भनाइ छ। ‘कर्मचारीहरु फागुन महिनाको मात्रै तलब दिन बाँकी छ’, उनले भने, ‘उहाँहरु (उजुरीकर्ता कर्मचारी) गत सोमबारदेखि नै अफिस आउनुभएको छैन। तर, अफिसको बाँकी कर्मचारीबाट भइरहेको छ।’

सेबोनका एक अधिकारीले आज स्वर्णलक्ष्मी सेक्युरिटिजविरुद्ध कर्मचारीहरुले उजुरी दिएको बताए। ‘उजुरीमाथि छानबिन गर्छौं, सम्बन्धित ब्रोकर हाउससँग यस विषयमा सोधपुछ गर्छौं’, ती अधिकारीले भने।