– अनन्त्य सुन्दर
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ब्रोकर कमिसनलगायत सीडीएससी, नेप्से, सेबोनमा लाग्ने लागतबारे अध्ययन अघि बढाएको छ।
सेबानका एक उच्च अधिकारीका अनुसार यसका लागि सेबोनका उपकार्यकारी निर्देशक कृष्णराज पोख्रेलको अध्यक्षतामा ५ सदस्यीय अध्ययन कमिटी गठन गरी अध्ययन प्रक्रिया अघि बढाएको हो। ‘सेबोनले प्रथम बजारका साथै दोस्रो बजारमा लाग्ने विभिन्न शुल्कबारे अध्ययन अघि बढाएको छ। झन्डै १५–२० दिन अघि समिति गठन गरेर अध्ययन अघि बढाएको हो’, ती अधिकारीले भने, ‘लगानीकर्ता संघसंगठनका नेताहरुले पनि ब्रोकर कमिसन उच्च भएको भन्दै सेबोनमा आएर गुनासो पोख्ने गरेकाले सेबोन अध्यक्षले विशेष प्राथमिकताका र चासो साथ लागतबारे अध्ययन अघि बढाउन निर्देशन दिनुभएको बुझिन्छ।’
सेबोनका अध्यक्ष रमेशकुमार हमालले नियुक्ति भएको पहिलो दिनदेखि नै साना लगानीकर्ताको हकहितमा काम गर्ने बताउँदै आएका छन्। उनले सोल्टी होटेलमा आयोजित पहिलो पत्रकार सम्मेलनमा लगानीकर्तालाई शुल्कमा केही राहत दिने योजना रहेको बताएका थिए। ‘बजारमा विगतको तुलनामा प्रविधिको प्रयोग पनि बढेको छ। त्यसैले लगानीकर्ताका साथै बजारका सहभागीलाई अप्ठ्यारो नहुने गरी लागतका साथै शुल्कको मोडल तयार गर्छौं’, उनले सम्मेलनमा भनेका थिए। अध्यक्ष हमालले गरेको प्रतिबद्धताअनुरुप नै अध्ययन अघि बढाइएको देखिन्छ।
लगानीकर्ताका अगुवाहरु सेबोन, नेप्से, सीडीएससीका साथै ब्रोकर कमिसनको शुल्क चर्को भएको भन्दै आन्दोलित हुने गरेका छन्। ब्रोकर कमिसनको शुल्क धेरै भएको घटाएर ०.२० प्रतिशत कायम गर्नुपर्ने अधिकांश लगानीकर्ताको माग उठाउँदै आएका छन्। लगानीकर्ताले अहिले भने ब्रोकरलाई ०.४० प्रतिशत कमिसन तिर्दै आएका छन्।
सेबोनले कमिसनबारे अध्ययन सुरु गरेसँगै अधिकांश ब्रोकरको भने असन्तुष्टि रहेको छ। विगतका दिनमा पनि सेबोनले लागतका बारेअध्ययन गर्दा ब्रोकर कमिसन घटाउने गरेकाले ब्रोकरहरुमा असन्तुष्टि भएको देखिन्छ।
अहिले बजारमा न्यून कारोबार भएको अवस्थामा हाल कायम ब्रोकर कमिसन घटाउँदा व्यवसाय नै सञ्चालन गर्न गाह्रो हुने ब्रोकरहरुको तर्क छ।
‘सस्तो लोकप्रियताका लागि सेबोनको अध्यक्षदेखि कर्मचारीसम्म सबैको दाउ ब्रोकर कमिसन घटाउन नै छ’, एक ब्रोकर सञ्चालक अध्ययन कमिटी गठन भएकोमा आक्रोश पोख्दै भन्छन्, ‘कमिसनमात्र घटाउने ! तर हाम्रो शाखा विस्तार, कार्यक्षेत्र विस्तार नगर्ने हो भने हाम्रो लाइसेन्स खारेज गर्दा हुन्छ। उसो त अहिलेको कारोबार रकममा ब्रोकर नै डुब्ने अवस्था छ। कमिसन झन् घटाउने हो भने हाम्रो व्यवसाय नै धरापमा पर्छ।’
‘२२ अर्बको बजार हेरेर ब्रोकरले यति कमायो भनेर हिसाब गरेरमात्र हुँदैन’, अर्का एक ब्रोकर सञ्चालक भन्छन्, ‘अहिले १–२ अर्बको कारोबार हुँदा आधाभन्दा बढी ब्रोकरहरु घाटामा छन्। कर्मचारी, प्रविधि थपिएको बेला कमिसन घटाए पछि हामीहरुले कसरी व्यवसाय सञ्चालन गर्ने?’
‘बजार विकास र विस्तारको लागि ब्रोकर कमिसन घटाउनेबाहेक अन्य विकल्प पनि छन् भन्ने बोर्ड अध्यक्ष मात्र नभएर सम्पूर्ण सरोकारवालाले बुझ्न आवश्यक छ’, ती ब्रोकर सञ्चालकले भने, ‘बोर्डको नियमन बढाउने, ब्रोकरको शाखा विस्तार, बजारमा अन्य प्रडक्टहरु थप्ने, नयाँ सेक्टरका कम्पनीहरु ल्याउनेजस्ता गतिविधिले पनि बजार विकास हुन्छ भन्ने कुरा नेतृत्वले बुझ्नु पर्छ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago