– अर्जुन तिमिल्सिना

काठमाण्डौ । अहिले सेयर बजारमा लागेका धेरैजसोको मुखबाट सुनिन्छ– ‘ब्रोकर लाइसेन्स त सुनको अन्डा दिने कुखुरा नै हो।’ नेपालमा हुनेहरुमात्रै होइन युरोप र अमेरिकामा व्यापार गर्ने नेपालीहरुले समेत ‘ब्रोकर लाइसेन्स पाए त नेपाल फर्किन्थेँ’ भन्ने गरेको सुनिन्छ। 

२०६४ सालदेखि थप ब्रोकर लाइसेन्स वितरण हुन सकेको छैन। लामो समय रिक्त दुई नियमक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नयाँ नेतृत्व आएपछि थप ब्रोकर लाइसेन्स वितरण गर्ने विषयले फेरि चर्चा पाएको छ। बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स दिनुपर्ने माग पनि उत्तिकै उठ्ने गरेको छ। यसअघि नै १२ वटा बैंकका सहायक कम्पनीहरुले ब्रोकर लाइसेन्सका लागि दिएको आवेदन सेबोनमा थन्किएका छन्। 

मुख्य विषय ब्रोकर लाइसेन्स वितरणमा कस्तो कार्यविधि बनाउने र कति पुँजी कायम गर्ने भन्ने अन्यौलता नै रहेको नेप्सेका एक अधिकारी बताउँछन्। 

हालको नियमावलीमा भएको व्यवस्थाअनुसार ब्रोकर लाइसेन्स लिन न्यूनतम २ करोड रुपैयाँ चुक्तापुँजी, स्नातकोत्तर तह उत्तीर्ण गरेको शैक्षिक योग्यता र सेयर तालिम लिएको हुनुपर्ने व्यवस्था गरेको छ। यसअघि रामकुमारी झाँक्रीको संयोजकत्वमा गठित आयोगले भने अब खुल्ने नयाँ ब्रोकर लाइसेन्सका लागि न्यूनतम १० कारोड चुक्तापुँजी तोकेको छ।

अहिले दिने भनेको ब्रोकर लाइसेन्समा योग्यता र अनुभव के–कस्तो हुुने भन्ने विषयमा भने नेप्से र सेबोन केही लचक हुने देखिएको छ। ‘व्यापार गर्नलाई भनेर कुनै योग्यता र तालिम आवश्यक राख्नु उपयुक्त हुँदैन। किनकि कोही दूरदराजमा गएर व्यापार गर्छु भन्छ भने योग्यता तोक्नु उपयुक्त हुन्न भने विषयमा अर्थ मन्त्रालय, सेबोन र नेप्से सबै सहमत छन्’, ती अधिकारीले भने, ‘अनौपचारिक रुपमा यस विषयमा राष्ट्र बैंक पनि सहमत छ। अहिलेका लागि होमवर्क हुँदैछ।’

अब नेप्से सञ्चालक समितिले कार्यविधि बनाएर सूचना निकालेपछि मात्रै ब्रोकर संख्या थप्ने कार्य अगाडि बढ्ने ती अधिकारीले बताए। ‘यसपटक नयाँ ब्रोकर लाइसेन्स वितरण गरिने सम्भावना भने धेरै छ’, ती अधिकारीले भने, ‘तर, अहिले नै पुँजी र योग्यताको विषयमा भने कुनै टुंगो भने लागिसकेको छैन।’

ती अधिकारीका अनुसार नयाँ ब्रोकर लाइसेन्स वितरणका लागि झाँक्री आयोगले सिफारिस गरेको १० कारोड पुँजी नै हुने सक्ने सम्भावान प्रबल छ।