–अनन्त्य सुन्दर

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को सञ्चालक समिति बैठकले धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली, २०६४ को संशोधन मस्यौदा पारित गरेको छ।

सेबोनको सञ्चालक समितिबाट तीन प्रकारका ब्रोकर लाइसेन्स वितरण गर्ने प्रस्तावसहितको पारित भएको उक्त संशोधित नियमावलीको मस्यौदा अर्थ मन्त्रालय पठाइएको छ। उक्त नियमावली मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेपछि कार्यान्वयनमा आउनेछ।

सेबोनले पारित गरेको उक्त नियमावलीले ५० वटा ब्रोकरको आफूले वर्षौंदेखि गर्दै आएको व्यवसायी नै खोसिने डरले अहिले चिन्तित भएका छन्। संशोधित नियमावलीअनुसार ग्राहकको आदेशअनुरुप सेयर खरिदबिक्री गर्नका लागिमात्र पनि ब्रोकरलाई २ वर्षको समयावधिभित्रमा २० करोड चुक्तापुँजी पुर्याउनुपर्ने हुन्छ।

अहिले सञ्चालनमा रहेका ब्रोकरले ग्राहकको आदेशअनुसार धितोपत्र खरिदबिक्रीका साथै निक्षेपसम्बन्धी काम (डीपी सेवा) गर्दै आएका छन्। केही ब्रोकरले मार्जिन कारोबारको लाइसेन्स पनि लिएका छन्। तर, पुँजीको स्रोत अभावका कारणले मार्जिन कारोबारसम्बन्धी सेवा ब्रोकरहरुले अहिले दिएका छैनन्।

सेबोनको संशोधित नियमावलीअनुसार २० करोड चुक्तापुँजी भए पनि ब्रोकरहरुले मार्जिन कारोबारका साथै निक्षेपसम्बन्धी सेवा दिन पाउने छैनन्। उक्त नियमावलीमा मार्जिन र डीपीको सेवा दिनका लागि पनि ब्रोकरहरुको चुक्तापुँजी ६० करोड हुनुपर्ने व्यवस्था राखिएको छ।

प्रस्तावित नियमावलीअनुसार अहिले सञ्चालनमा रहेका ब्रोकरले २ करोड रुपैयाँ रहेको चुक्तापुँजी २ वर्षभित्र १० गुणाले बढाएर २० करोड पुर्याउनुपर्नेछ। पुँजीवृद्धि गरेर २० करोड पुर्याउँदा पनि उनीहरु धितोपत्र खरिदबिक्रीका लागिमात्र योग्य हुनेछन्। अर्थात् उनीहरुले पुँजीवृद्धि गर्दा पनि अहिले दिने सेवासुविधा दिन पाउने छैनन्।

ब्रोकरहरु पूर्ण सेवा दिनलाई ६० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्ने छ। ६० करोड रुपैयाँ चुक्तापुँजी भएका ब्रोकरले ग्राहकको नामबाट सेयर खरिदबिक्री, मार्जिन कारोबार, लगानी परामर्श सेवाका साथै निक्षेप सदस्यसम्बन्धी काम गर्न योग्य हुनेछन्।

संशोधित नियमावलीमा स्टक डिलर अर्थात् धितोपत्र व्यापारीको लाइसेन्सका लागि १ अर्ब ५० करोड रुपैयाँ चुक्तापुँजी प्रस्ताव गरिएको छ। यो चुक्तापुँजी भएका ब्रोकरहरु आफ्नै नामबाट सेयर खरिदबिक्री, धितोपत्र दलालहरुको काम, धितोपत्र प्रत्याभूतिका काम साथै योग्य संस्थागत लगानीकर्ताको काम गर्न पनि योग्य हुनेछन्।

‘हामीले ३० वर्षदेखि गर्दै आएको व्यवसायी नै हामीबाट खोसिँदैछ’ एक ब्रोकर सञ्चालक भन्छन्, ‘बैंकलाई ब्रोकर लाइसेन्स र पुँजीवृद्धिको नाममा नियामक निकायबाट हामीलाई जबर्जस्ती आफ्नै पेसा गर्न वञ्चित गराएको देखिन्छ। नियामक निकायहरुबाट ब्रोकर लाइसेन्समा सबैलाई समान अवसर दिने बहानामा खर्बौंको बजार सीमित व्यक्तिको हातमा सुम्पिने काम हुँदैछ।’

‘२० करोड पुँजी पुर्याउँदा पनि हामीले ग्राहकको आदेशअनुसार सेयर खरिदबिक्रीमात्र गर्न पाउने भनिएको छ। अर्थात् हामीले पुँजी वृद्धि गर्दा पनि हामीले सबब्रोकरले जतिमात्र सेवा दिन पाउनेछौँ। जुन हिसाबले सम्बन्धित बजारका सरोकारवालासँग अध्ययन, छलफल र अन्तरक्रिया नगरी रातारात नियमावली ल्याइयो त्यसले नियामकको मनसाय प्रस्टसँग झल्किएको छ’, ती सञ्चालकले भने।