काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले भन्सार महसुलको विद्युतीय भुक्तानी (ई–पेमेन्ट) प्रणालीको बुधबार सुरुआत गरेका छन्।

७० औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आयोजित एक समारोहबीच अर्थमन्त्री शर्माले ई–पेमेन्ट प्रणालीको शुभारम्भ गरेका हुन्। ई–पेमेन्ट प्रणालीको सुरुआतसँगै अब व्यवसायीले भन्सार महसुल अनलाइनमार्फत नै तिर्न सक्ने भएका छन्। 

ई–पेमेन्टको सुरुआतसँगै अब घरमै बसेर भन्सार जाँचपास गर्न सकिने तथा राजस्व संकलनमा समेत सहजता प्रदान गर्ने मन्त्री शर्माले विश्वास व्यक्त गरे। ‘योसँगै ‘नयाँ युग’को सुरुआत भएको छ’, उनले भने। 

‘व्यापार सहजीकरण, सेवाग्राही र कर्मचारीको समय बचतलगातयका लागि यसले महत्वपूर्ण औजारको रूपमा काम गर्नेछ’, शर्माले भने, ‘यसले भन्सारमा काम गर्ने कर्मचारीहरुको काममा सुधार गर्न पनि मद्दत गर्नेछ।’ 

त्यस्तै शर्माले भन्सारविन्दुमा चाँडै ‘भेइकल स्क्यानर’ प्रयोग गरिने पनि जानकारी दिए। उनले भन्सारको निरन्तर सुधारअन्तर्गत भेइकल स्क्यानर ल्याउने कार्य अन्तिम चरणमा पुगेको बताए। 

मन्त्री शर्माले भेइकल स्क्यानर मालवस्तुको जाँचका लागि ात्र प्रयोग नभएर राष्ट्रिय सुरक्षाको कुरासँग पनि जोडिने उल्लेख गरे। ‘हामीले ई–पेमेन्टको सुरुआत गरेका छौँ। छिट्टै नै हामी प्रमुख भन्सारहरुमा स्क्यानरको पनि सुरुआत गर्नेछौँ’, उनले भने, ‘कुन माल वस्तु आयो भनेर छुट्याउने कुरामात्र होइन राष्ट्रिय सुरक्षाका लागि त्यो महत्वपूर्ण साधन हुनेछ।’ 

सबै वस्तु आवश्यक पर्नेमात्र नआउने उल्लेख गर्दै शर्माले नेपाल र छिमेकी राष्ट्रहरुको सुरक्षामा खतरा हुन सक्ने वस्तुको निगरानीका लागि पनि स्क्यानर महत्वपूर्ण हुने बताए। 

शर्माले भन्सार विन्दुहरुमा निजी क्षेत्रले माग गरेबमोजिम अन्तर्राष्ट्रिय मापदण्डको क्वारेन्टिन तथा प्रयोगशालाको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको पनि बताए। त्यसका लागि सरकार कामलाई अगाडि बढाउन प्रतिबद्ध रहेको उनले उल्लेख गरे। 

यसका साथै निजी क्षेत्रसँगको सहकार्यको निरन्तरता तथा निजी क्षेत्रको सुझावहरु सरकारले नीतिनिर्माणमा मार्गदर्शनका रुपमा लिने पनि विश्वास पनि शर्माले दिलाए। 

यसैगरी पछिल्लो समय अन्तर्राष्ट्रिय मूल्य वृद्धिको शृंखलाका कारण विदेशी मुद्राको सञ्चितिमा केही चाप परेको जानकारी दिँदै मन्त्री शर्माले अर्थतन्त्र धराशायी नभएको बताए। कतिपयले निजी क्षेत्र तथा आमसर्वसाधारणलाई त्रसित बनाउने गरी प्रचार गरेकोप्रति असन्तुष्टि व्यक्त गर्दै उनले त्यस्ता भ्रमलाई सरकारले नतिजाबाट चिरफार गर्ने बताए। 

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले प्रविधि ल्याएरमात्र नहुने उल्लेख गर्दै त्यसको सञ्चालनका लागि दक्ष जनशक्ति तथा निरन्तर अभ्यास एवं तालिमको व्यवस्था हुनुपर्नेमा जोड दिए। त्यस्तै भन्सार सुधारबाट अर्थतन्त्रमा ७० प्रतिशत योगदान गर्ने निजी क्षेत्र बढी लाभान्वित हुने उल्लेख गर्दै उनले यस्ता सुधारमा निजी क्षेत्रको सहयोगको खाँचोसमेत औँल्याए। 

निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले भन्सार मूल्य मूल्यांकन सुधार गर्नुपर्ने माग गरे। परम्परागत प्रणालीबाट नै मूल्यांकन भइरहेकाले सही मूल्य निर्धारण नहुँदा अर्थतन्त्रमा नै असर परिरहेको उनको जिकिर थियो। जसकारण नयाँ पिँढीलाई व्यवसायमा आउन निरुत्साहित भइरहेको उनले उल्लेख गरे। 

हरेक वर्ष २६ जनवरीका दिन अन्तर्राष्ट्रिय भन्सार दिवस मनाउँदै आइएको छ। यस वर्ष पनि भन्सारलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्ने नाराको मूल भावसहित मनाइएको हो।