काठमाण्डौ । नरेन्द्र मोदीले ८ नोभेम्बर राति भारु ५ सय र १ हजार रुपैयाँको नोटमाथि प्रतिबन्ध लगाउने घोषणा गरेपछि भारतको अर्थतन्त्रमा जति अप्ठ्यारो अवस्था आएको छ, त्यसको ठूलो असर नेपालको अर्थतन्त्रमा पनि परेको प्रतिवेदन सार्वजनिक भएको छ । भारुमा लागेको प्रतिबन्धकै कारण नेपालको चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर नै प्रभावित हुने दाबी समेत गरिएको छ । 

बिएमआई रिसर्चले बुधबार एक प्रतिवेदन सार्वजनिक गर्दै नेपालको आर्थिक वृद्धिदरमा भारु नोटमाथिको प्रतिबन्धकै कारण ०.३ प्रतिशतसम्मको गिरावट आउनसक्ने प्रक्षेपण गरेको हो । 

विश्वको प्रमुुख रेटिङ एजेन्सी फिचको ग्रुप कम्पनी बिएमआई रिसर्चले बुधबार एक प्रतिवेदन सार्वजनिक गर्दै नेपालको आर्थिक वृद्धिदरमा भारु नोटमाथिको प्रतिबन्धकै कारण ०.३ प्रतिशतसम्मको गिरावट आउनसक्ने प्रक्षेपण गरेको हो । 

प्रतिवेदनका अनुसार नरेन्द्र मोदीको यो घोषणासँगै नेपालको आर्थिक वृद्धिदरको रफ्तार केही सुुस्त भएको छ । सीमा क्षेत्र लगायतको व्यापार चौपट भएको छ भने पर्यटकहरुको संख्यामा समेत निकै कमी आएको छ । साथै भारतमा रहेका नेपालीहरुले आफ्नो देशमा पठाउने पैसाको मात्रा पनि विगतको तुलनामा निकै घटिरहेको छ । 

यो कम्पनीले यसअघि चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २.५ प्रतिशत हुुने प्रक्षेपण गरेकोमा अब भारुमाथिको प्रतिबन्धपछि यो खुम्चिएर २.२ प्रतिशतमा आउने दाबी गरेको हो । 

रिपोर्टमा उल्लेख भएअनुसार नेपालको अर्थव्यवस्था करिब २१ अर्ब डलरको हो । यसअघि नेपालमा आएको महाभूकम्पका कारण यहाँको अर्थतन्त्र निकै चौपट भएको थियो । 

बिएमआईको रिपोर्टमा भनिएको छ कि भारतबाट आउने पैसाको अभावका कारण पुननिर्माण सम्बन्धी कार्य समेत प्रभावित हुनसक्छ । सो रिपोर्टमा भनिएको छ–‘यो यसकारण हुन्छ कि व्यापार, रोजगारी र सहायता आदिका लागि नेपालको अर्थव्यवस्था अधिकांश रुपमा भारतप्रति निर्भर छ ।’ 

भारतमा नोटबन्दीपछि नेपालले आफ्नो देशमा भारुमाथि प्रतिबन्ध लगाएको छ । राष्ट्रबैंकले जहिलेसम्म रिजर्ब बैंक अफ इण्डियाबाट भारुको बिषयमा नयाँ कुरा वा जानकारी आउँदैन, तबसम्म नेपालमा भारु प्रतिबन्धकै अवस्थामा रहने बताएको रिपोर्टमा उल्लेख छ । ‘जबसम्म हामीलाई आधिकारिक रुपमा जानकारी दिइन्न, तबसम्म नयाँ भारु नोट स्वीकार गर्दैनौ ।’–राष्ट्रबैंकका एक अधिकारीलाई उद्धृत गर्दै रिपोर्टमा भनिएको छ । 

यही कारण भारतीय सीमा क्षेत्रमा अनौपचारिक व्यापार गरिरहेका हजारौ नेपाली प्रभावित भएका छन् । उनीहरुले न पैसा पाइरहेका छन् न त पैसा दिन नै सकिरहेका छन् । 

यस अलावा नेपाल घुुम्न आउने पर्यटकको संख्यामा पनि निकै कमी आएको छ । प्रत्येक वर्ष नेपालमा करिब ८ लाख विदेशी पर्यटक आउँछन् । यसमा भारतीयहरुको संख्या करिब एक चौथाई रहेको प्रतिवेदनमा उल्लेख छ । 

भारतमा काम गर्ने नेपालीले आफ्नो देशमा पठाउने पैसामा पनि निकै कमी आएको छ । प्रतिवेदनका अनुसार सन् २०१६ मा नेपालीले आफ्नो देशमा ६४ करोड डलर पठाएका थिए ।