काठमाण्डौ । भारतमा गेमिङ एप पब्जीसहित ११८ चिनियाँ मोबाइल एपमा प्रतिबन्ध लगाइएको छ।

भारतको इलेक्ट्रोनिक्स तथा इन्फर्मेसन टेक्नोलोजी मन्त्रालयद्वारा जारी वक्तव्यमा यी एपहरुको प्रयोगबाट भारतको सम्प्रुभता तथा अखण्डता, देशको रक्षा तथा लोक व्यवस्थाविरुद्ध गतिविधिहरु बढेको प्रतिबन्ध लगाइएको स्पष्ट पारिएको छ। वक्तव्यमा भनिएको छ, ‘यो कदम भारतका करोडौँ मोबाइल र इन्टरनेट युजर्सको हितको रक्षार्थ उठाइएको हो। यो फैसला भारतको साइबर स्पेसको सुरक्षा तथा सम्प्रभुताको सुनिश्चित गर्ने उद्देश्यले लिइएको हो।’

यी एपका बारेमा विभिन्न स्रोतबाट गुनासा र उजुरी आएपछि यस्तो कदम उठाइएको पनि सरकारी अधिकारीहरुले बताएका छन्। यी गुनासाहरुमा एन्ड्रोइड र आईओएसमा उपललब्ध केही मोबाइल एपबाट प्रयोगकर्ताहरुको डेटा अनाधिकृत रुपमा चोरी भारतबाट बाहिर रहेका सर्भरमा पठाइएको भनिएका थिए।

भारत सरकारले यसअघि गत जुनमा पनि चीनसँग जोडिएका ५९ एपमा प्रतिबन्ध लगाएको थियो। जसमा टिकटक पनि समावेश थियो। त्यसपछि पुनः १५ जुनमा भारतले चीन–भारत सीमा क्षेत्रमा आफ्ना २० सैनिक मारिएपछि थप ४७ एपमा प्रतिबन्ध लगाएको थियो। 

हालसम्म भारत चीनका २२४ वटा एपमा प्रतिबन्ध लगाइसकेको छ। – एजेन्सी