काठमाण्डौ । भारतबाट नेपाल प्रवेश गरेकाहरुलाई सल्यान ल्याउँदै गरेको बस आइतबार मध्यरातमा बाँकेको राप्ती सोनारी गाउँपालिकाको ठुरिया जंगलमा दुर्घटनाग्रस्त हुँदा ११ जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन्।

विश्व महामारी कोरोनाभाइरसका कारण काम गर्न नपाएपछि भारतबाट नेपाल फर्केकाहरुलाई नेपालगन्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको फोर्स गाडी राति करिब १२ बजेतिर सडकमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। केहीको घटनास्थलमै, केहीको उपचारार्थ अस्पतालै जाने क्रममा र केहीको उपचारका क्रममा अस्पतालमा ज्यान गएको प्रारम्भिक जानकारी आएको छ। 

घाइतेमध्ये ५ जनाभन्दा बढीको अवस्था गम्भीर छ। घाइते सबैको भेरी अस्पतालमा उपचार भइरहेको छ। शवहरु पनि भेरी अस्पताल नै ल्याइएको छ। 

मृतक सनाखत भइनसकेको प्रहरीले जनाएको छ।