काठमाण्डौ । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकामा थप ८ जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको छ।

वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका सबै ८ जना जगरनाथपुर गाउँपालिका ६ का बासिन्दा हुन्। 

संक्रमित हुनेमा भारतको केरला, लुधियाना लगायतका स्थानबाट मजदुरी गरी १५ दिनअघि इनर्वा नाका हुँदै नेपाल फर्किएका ७ पुरुष र एक महिला छन्। उनीहरुलाई सुरक्षाकर्मीको सहयोगमा सन्ठीस्थित श्री नेपाल राष्ट्रिय माविको क्वारेन्टिनमा राखिएको थियो।

भारतबाट आई सन्ठी क्वारेन्टिनमा बस्दै आएका ३४ जनाको गत शुक्रबार स्वाब संकलन गरिएको थियो । संक्रमित सबैलाई गण्डक कोभिड अस्पताल ल्याउने तयारी भइरहेको जिल्ला प्रशासनकार्यालय पर्साले जनाएको छ।