काठमाण्डौ। भारतबाट नेपाल आउँदै गरेको नवलपरासीका एक युवकको रुपन्देहीको सीमा बेलहियानजिकै आइपुग्दा बुधबार बिहान मृत्यु भएको छ।

भारतको मुम्बईमा मजदुरी गर्दै आएका पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर २ का अन्दाजी ३२ वषीृय युवकको मृत्यु भएको हो। पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले ती युवकको शव ल्याउन जिल्ला प्रशासन कार्यालय रुपन्देहीसँग समनवय गरिरहेको बताए। 

रुपन्देही प्रशासनले भने भारतीय भूमिमै ती युवकको मृत्यु भएकोले त्यहीँ पिसिआर परीक्षण गरेपछि मात्र शव व्यवस्थापनको प्रक्रिया अगाडि बढाइने जनाएको छ। पिसिआर परीक्षणमा कोरोना पोजेटिभ आए भारतमै शव व्यवस्थापन गरिने र नेगेटिभ आएमात्र शवलाई नेपाल ल्याएर परिवारको जिम्मा लगाइने रुपन्देही प्रशासनले जनाएको छ। 

ती युवक सीमानजिक आइपुगेपछि अचानक बेहोस् भएका थिए। बेहोस भएको केही क्षणमै उनको ज्यान गएको छ। ती युवकमा अन्य स्वास्थ्य समस्या रहेको परिवारस्रोतबाट जानकारी प्राप्त भएको प्रजिअ पाठक बताउँछन्।