काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले भारतीय लगानीकर्ताहरुलाई नेपालको फस्टाउँदो ऊर्जा र पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ । 

सोमबार काठमाण्डौमाआयोजित नेपाल–इन्डिया बिजनेस फोरमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष ढकालले द्रूतरुपमा बढ्दो नेपालको ऊर्जा र पर्यटन क्षेत्रमा लगानीका प्रसस्त सम्भावनाहरु रहेको बताए । 
 

उनले नेपालमा पर्यटन पूर्वाधारको क्षेत्रमा हालै भएको उल्लेख्य विकासबारे चर्चा गर्दै भैरहवा र पोखरामा दुईवटा अन्तरराष्ट्रिय विमानस्थल निर्माण र सञ्चालनसँगै नेपालमा पर्यटन क्षेत्रको सम्भावनाको ढोका खुलेको बताए। 
 

उनले नेपालमा होटल, केवलकार, थिम पार्क, साहशी पर्यटन, खेल पर्यटन तथा माइस पर्यटनको ठूलो सम्भावना रहेको र यसमा भारतीय लगानीकर्ताले लगानी गर्न सक्ने उल्लेख गरे ।
 

‘नेपालको पर्यटन क्षेत्रले ठूलो फड्को मारेको छ । म भारतीय लगानीकर्ताहरुलाई नेपालमा बढ्दो पर्यटन सम्भावनालाई प्रयोग गर्दै यहाँका विविध क्षेत्रमा लगानी गर्न आग्रह गर्न चाहन्छु । दुईवटा अन्तरराष्ट्रिय विमानस्थलको निर्माणसँगसँगै पर्यटकको आगमन बढेको छ । यसले धेरै क्षेत्रमा लगानी गरी फाइदा लिनसक्ने वातावरण बनाइदिएको छ’, उनले भने ।
 

उनले नेपालमा परम्परागत क्षेत्रभन्दा बाहिर रहेका नयाँ र उदीयमान क्षेत्रहरु जस्तै शिक्षा, स्वास्थ्य, कृषि र उत्पादन क्षेत्रमा लगानीका लागि सहकार्य गर्नका लागि समेत आग्रह गरे ।
 

नेपालमा लगानी गरेका भारतीय र बहुराष्ट्रिय कम्पनीले निकै राम्रो प्रतिफल लिइरहेको बताउँदै अध्यक्ष ढकालले भारतीय लगानीकर्तालाई विभिन्न क्षेत्रमा लगानी गर्न र यसको फाइदा उठाउन आह्वान गरे ।
नेपालमा भारतीय लगानीले नेपालको आर्थिक विकासमा मात्र योगदान पु
र्‍याउने नभई दुई देश बीचचको आर्थिक सम्बन्ध पनि बलियो बनाउने विश्वास उनले व्यक्त गरे ।
 

अध्यक्ष ढकालले निजी क्षेत्रसँगको सहकार्यमासरकारले यही वैशाखमा आयोजना गर्न गइरहेको लगानी सम्मेलनको चर्चा गर्दै त्यसमा भारतीय लगानीकर्ताहरुलाई सक्रिय सहभागिताका लागि आमन्त्रण समेत गरे ।
 

हालै भारतीय विदेशमन्त्री जय शंकरको भ्रमणको अवसरमा नेपाल र भारतबिच १० हजार मेगावाटसम्म नेपालको विद्युत भारतीय बजारमा लिने विषयमा भएको सम्झौताले नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि भारतीय लगानीकर्ताहरुलाई ठूलो अवसर सृजना गरेको पनि उनले बताए ।
 

अध्यक्ष ढकालले क्षेत्रीयरुपमा व्यवसायिक गतिविधि विस्तार गर्न र क्षेत्रीय व्यापार प्रवर्द्धन गर्न आफूले बिम्स्टेक बिजनेस फोरमको प्रस्ताव गरेको बताउँदै त्यसलाई अगाडि बढाउन आवश्यक सहयोग गर्न इन्डियन च्याम्बर अफ कमर्शलाई आग्रह गरे ।