काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडा अर्थमन्त्री खतिवडाले भारत सरकारले भारु ५ सय र १ हजारका नोट प्रचलनमा बन्देज लगाउनुभन्दा पहिले नेपालमा मौज्दात भारु ५ करोडको सटही सम्बन्धमा देखिएको समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका छन् ।

भारतको नयाँदिल्लीमा भइरहेको विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन आएका अर्थमन्त्री खतिवडाले भारतको वित्त मन्त्रालयमा भारतीय वित्तमन्त्री निर्मला सितारमणसँग शिष्टाचार भेट गर्दै यस्तो आग्रह गरेका हुन् । उनले भारतबाट नेपालतर्फ जाने व्यक्तिहरुले आपूmसँग लैजान पाउने ठूला दरका भारु नोटहरु फर्काउने सम्बन्धमा द्विविधा भएकाले त्यसलाई स्पष्ट हुने गरी आवश्यक सूचना जारी गरिदिनसमेत अनुरोध गरे।

भेटमा अर्थमन्त्री खतिवडाले नेपालको विकासका लागि भारत सरकारबाट निरन्तर प्राप्त सहयोगका लागि धन्यवाद दिए। उनले द्विपक्षीय आर्थिक सहयोग, व्यापार र लगानीका विषयमा छलफल पनि गरे।

अर्थमन्त्री खतिवडाले भारतीय सहयोगमा सञ्चालित विभिन्न आयोजनाको कार्यान्वयन अवस्थाबारे जानकारी गराए। उनले भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले उपलब्ध गराउने सहुलियतपूर्ण ऋणलाई पूर्वाधार क्षेत्रमा समेत उपयोग गर्ने गरी तय गरिएका आयोजनाहरुको विषयमा जानकारी दिए।

साना विकास अनुदान आयोजना, हुलाकी सडक, एकीकृत चेक पोष्टको कार्यान्वयन अवस्थाबारे पनि खतिवडाले जानकारी गराएका छन् । नेपाल इन्फ्रास्टकचर बैंक लिमिटेडमा भारतीय लगानीकर्ताबाट समेत इक्विटीमा लगानीगर्नका लागि प्रक्रिया अघि बढेको जानकारी दिंदै उनले यो कार्य अघि बढाउन अनुरोध गरे।

अर्थमन्त्री खतिवडाले पछिल्लो आर्थिक स्थिति, लगानीको वातावरण तथा राजस्वका क्षेत्रमा भएका सुधारका प्रयास, द्विपक्षीय व्यापार, वाणिज्य सन्धिलगायतका विषयमा समेत वित्तमन्त्री सितारमणसँग छलफल गरेका छन् । नेपालको वैदेशिकव्यापारको दुई तिहाइ हिस्सा भारतसँग भएको उल्लेख गर्दै उनले बढ्दो व्यापार घाटा सम्बोधन गर्न भारत सरकारबाट पनि सहयोग प्राप्त हुने अपेक्षा गर्नुभयो ।

वित्तमन्त्री सितारमणले नेपाल–भारतबीचको सम्बन्ध सदियौँदेखि भएको उल्लेख गर्दै आगामी दिनमा सहायतालाई बढाउने जानकारी गराइन्। उनले भारतीय सहयोगमा सञ्चालित आयोजना तथा विगतको भारु नोट प्रचलनमा भएको बन्देज र भारु नोट प्रयोगका क्रममा उत्पन्न समस्यालाई दुवै देशको सहमतिमा समाधान गरिने बताइन्।

नेपाल भ्रमणका लागि निमन्त्रणा गरेकोमा अर्थमन्त्री डा. खतिवडालाई धन्यवाद दिँदै सितारमणले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताइन्।

भेटमा नेपाली राजदूतावास, नयाँदिल्लीका नियोग उपप्रमुख भरत रेग्मी र अर्थ मन्त्रालयका उपसचिव रमेश अर्यालको समेत उपस्थिति थियो ।