काठमाण्डौ । नरेन्द्र मोदीले भारतमै पनि १ हजार र ५ सय भारुको पुरानो नोटमाथि प्रतिबन्ध लगाएपछि त्यसको असर नेपालको अर्थतन्त्रमा पनि परेको छ । नेपालमा निकै ठूलो मात्रामा कारोबारमा भारु प्रयोग हुने गरेका कारण पनि पुरानो नोटमाथिको प्रतिबन्धले नेपाललाई समस्या भएको हो । 

नेपालमा रहेको भारुको व्यवस्थापन कसरी गर्ने भन्ने अन्यौलको गाँठो फुक्न नसकिरहेको बेला यदि तपाईं भारुको अभाव टार्न भारतमा प्रयोगमा ल्याइएको ५ सय र २ हजारको नयाँ नोट नेपालमा चलाउने वा भित्र्याउने सोचिरहनु भएको छ भने फस्न सक्नुहुन्छ । 

नेपाल राष्टबैंकले भारतले प्रचलनमा ल्याएको ५ सय र २ हजारको नयाँ नोट तत्काल नेपालमा नचल्ने प्रष्ट पारेको छ । उसले नयाँ भारुको नोटलाई नेपालमा प्रयोग गर्नु अनाधिकृत र अबैध भनेको छ । नेपालमा भारु २ हजार र पाँच सयको नयाँ नोट प्रयोग अवैध र अनाधिकृत भनेको छ । 

भारतमा भारुको चरम अभावबाट पिल्सिएका जनतालाई राहात दिन भन्दै ५ सय र २ हजारको नोट प्रचलनमा ल्याइएको छ । तर त्यहाँ प्रचलनमा आएको नोट नेपालमा भने सहजै प्रयोग गर्न सकिँदैन । 

राष्टबैंकका एक अधिकारीका अनुसार भारतमा प्रयोगमा ल्याइएको नयाँ नोट नेपाली बजारमा पनि देखा पर्न थालेको भन्दै त्यस्ता नोट कारोबारमा प्रयोग गर्नु अबैध हुने र प्रयोगकर्ता फस्नसक्नेछन् । तत्कालका लागि ती नयाँ भारुको प्रयोग नेपालमा अबैध हो । 

ती अधिकारीका अनुसार भारतले आफ्नो ‘फरेन एक्चेञ्ज म्यानेजमेन्ट एक्ट’ अन्तरगत ‘फेमा नोटिफिकेशन’ जारी गरेपछि मात्रै नयाँ नोट नेपालमा प्रचलनमा ल्याउनु बैध हुनेछ ।

उनका अनुसार भारतले भुटान र नेपालमा निश्चित परिमाणसम्म भारु बोक्न तथा कारोबार गर्न सक्ने गरी ‘फेमा नोटिफिकेशन’ जारी गर्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि नोटिफिकेशन मार्फत नेपालमा ५ सय र १ हजारका नोट २५ हजारसम्म कारोबार गर्न खुला गरिएको थियो । त्यही व्यवस्था अन्तर्गत पनि नेपालमा भित्रिएको भारुको व्यवस्थापन अहिले टाउको दुखाईको बिषय बनेको छ । 

तर, भारुका पुराना र साना नोट(प्रतिबन्ध लागेको बाहेक) भने नेपालमा प्रचलनमा ल्याउन सकिनेछ ।