काठमाण्डौ । लामो प्रयास गर्दा पनि साटिन नसेकेका, प्रतिबन्धित ५ सय र १ हजार दरका भारतीय नोटको सटही बारे एक हप्ताभित्र टुंगो लगाउने प्रयास आफूले गरिरहेको नयाँ दिल्लीस्थित नेपाली राजदूतले बताएका छन्।

नेपालमा रहेको भारु नोट साट्दा कालो धन भित्रिने हो कि भन्ने अशंका भारतीय अधिकारीहरुमा रहेको उनको भनाई छ।

भारतले नोट सटहीका लागि तय गरेको समयसीमा सकिएको लामो समय बित्दा समेत नेपालको राष्ट्रिय ढुकुटीमा रहेका प्रतिबन्धित भारु नोटसमेत साटिन सकेका छैनन्।

भारतीय अधिकारीहरु बजेट ल्याउन केहि समय व्यस्त भएको तर अब त्यहाँ बजेट प्रस्तुत भइसकेकाले लामो समयदेखि अल्झिएको यो मुद्दाले समाधान पाउने नेपाली पक्षको विश्वास रहेको छ।

भारत सरकारले चलन चल्तीमा रहेका १ हजार र ५ सय दरका नोट माथि प्रतिबन्ध लगाएसँगै नेपालमा रहेका उक्त दरका नोटहरु साट्ने पहल शुरु भएको थियो।

भारतका नागरिकका लागि नोट साट्नका लागि दिइएको समय सीमा सकिएको महिना दिन भन्दा धेरै भइसक्दा पनि भारत सरकारले नेपालमा रहेका नोट साटिने वा नसाटिने बारेमा कुनै जवाफ दिएको छैन।

पटक-पटक पत्राचार गर्दा समेत जवाफ नपाएपछि नेपाल राष्ट्र बैंकले छलफलका लागि प्रतिनिधि मण्डल भारत पठाएको थियो।

उक्त टोली पनि रित्तो हात नेपाल फर्किएपछि दिल्लीस्थित नेपाली दूतावासले नोट सटहीको लागि अग्रसरता लिइरहेको छ।

भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले अर्को हप्तासम्म नोट सटहीबारे केहि निर्णय हुनसक्ने बताए।

उनले भने, "भारतमा बजेटको सन्दर्भ परेर उहाँहरुले त्यसमा हेर्न पाउनु भएन, बजेट आए लगत्तै सार्वजनिक विदाहरु परे, अब अर्को हप्तासम्ममा यो विषयले टुंगो पाउनुपर्छ भन्ने हाम्रो प्रयास छ।"

भारतीय अधिकारीहरुसंग भएको छलफलका क्रममा भारतमा कालो धनका रुपमा रहेका उक्त दरका नोट नेपालमार्फत आउने हुन कि भन्ने आशंका व्यक्त गरेको राजदूत उपाध्यायले बताए।

"उहाँहरुलाई कालोधन होला भन्ने लागेको छ तर २५ हजार रुपैयाँसम्मको नगद राख्न मिल्ने सीमा हद भएकाले एउटा खातामा त्यो भन्दा बढी हुँदैन भनेर हामीले शंका गर्नुपर्दैन भनेका छौं।"

राष्ट्र बैंकका अधिकारीहरु पनि भारतीय बजेट आइसकेकोले अब नेपालका रहेको भारु नोट बारेको छलफलले गति लिने कुरामा आशावादी देखिएका छन्।

नेपालको ब्याङ्किङ प्रणालीमा करिब साढे तीन करोड रुपैयाँ जति भारु ५ सय र १ हजार दरका नोट रहेको तथ्याङ्क राष्ट्र ब्याङ्कसँग छ।

त्यसका अलावा भारतमा गएर काम गरेर आउने नेपालीहरु अनि व्यवसायीहरुसँग त्यो भन्दा निकै ठूलो परिमाणमा नोट रहेको अनुमान गरिएको छ।

बीबीसीबाट