काठमाण्डौ । भिजन लुम्बिनी उर्जा कम्पनीले निष्कासन गरेको आईपीओमा दोस्रो दिनसम्ममा २.८५ गुणा बढी आवेदन परेको छ । 

सीडीएस एन्ड क्लियरिङका अनुसार पहिलो दिन  शुक्रबार साँझ ५ः०७ बजेसम्ममा ४ लाख ८२ हजार ७१७ जना आवेदकले ५९ लाख २९ हजार ४०० कित्ताका लागि आवेदन दिएका हन् । जसअनुसार ५९ करोड २९ लाख ४० हजार रुपैयाँ बराबरको आवेदन परेको छ । जुन सर्वसाधारणबाट माग गरिएको भन्दा २.८५ गुणा बढी हो ।

कम्पनीले जारी पूँजीको १० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका १९ लाख १२ हजार ५०० कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको छ । कम्पनीले कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ९५ हजार ६२५ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ३८ हजार २५० कित्ता कर्मचारीलाई छुट्याइएको छ।

बाँकी रहेको १५ लाख ८७ हजार ३७५ कित्तामा स्थानीयलाई बिक्री हुन बाँकी ४ लाख ८७ हजार ९१० कित्ता जोडेर २० लाख ७५ हजार २८५ कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो। लगानीकर्ताले न्यूनतममा १० कित्ता र अधिकतममा ३ लाख ८० हजार कित्तासम्म आवेदन दिन पाउनेछन्।

यो आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।

यो आईपीओको निष्कासन बन्द छिटोमा कात्तिक २० गते र ढिलोमा मंसिर १ गते बैंकिङ समयपछि हुनेछ। यो आईपीओको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।