काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो विद्यमान निदानात्मक सेवामा थप अत्याधुनिक सुविधा सम्पन्न, प्रविधि सम्पन्न ३ टेस्ला एम.आर.आई. र विश्वकै उत्कृष्ट मध्येको एक अत्याधुनिक प्रविधिसम्पन्न १२८ स्लाइस सी.टी. स्क्यान मेसिन थप गरेको छ । 

यी दुई अत्याधुनिक  सेवा थपिएपश्चात् नर्भिकले आफूलाई पूर्णतया न्युक्लिएर मेडिसिन सेन्टरका रुपमा परिणत गर्न सफल भएको छ । नवजडित सेवाहरूको समुद्घाटन आजै एक विशेष समारोहबीच पूर्व युवराज्ञी तथा समाजसेवी हिमानी राज्यलक्ष्मीदेवी शाहले गरिन् । 

समारोहमा वरिष्ठ कलाकार तथा नर्भिकका सद्भावनादूत हरिवंश आचार्य उपस्थित थिए । सद्भावनादूतद्वयका तर्फबाट हरिवंश आचार्यले कार्यक्रममा आफ्नो मन्तव्य राखेका थिए । 

निदरल्याण्डमा निर्मित 3.0T इञ्जेनिया एम.आर.आई.मा यसको (इन–बोर) सुरूङ्ग (tunnel) भित्र श्रब्य–दृश्य प्रणाली रहेको हुँदा बिरामीले आफूलाई मनपर्ने, सङ्गीत, मनपर्ने भिडियो आदि सुन्न/हेर्न सक्नेछन् । त्यसरी नै एम.आर.आई. प्रक्रियाको चित्र अति विशिष्ट र सुस्पष्ट त हुन्छ नै बिरामीको सेवा/आरामदायितामा पनि यो अतुलनीय रहेको हुँदा यसखाले एम.आर.आई. नेपालमै पहिलो हुने अस्पतालले प्रष्ट्याएको छ । 

अप्रिय/डरलाग्दो आवाज र झञ्झनाहट नै एम.आर.आई. गराउने तमाम बिरामीहरूले भोग्दै आएको समस्या हो । यसखाले एम.आर.आई.को सुरुङ्गभित्र झञ्झनाहट र अप्रिय आवाजको सट्टा सुमधुर सङ्गीत र मनमोहक भिडियो (श्रब्य–दृश्य) प्रणाली हुनु र यसखाले समस्यारहित विश्वकै पहिलो एम.आर.आई. भएका कारण बिरामीले त्यस्ता समस्या भोग्नुपर्ने वा डराउनुपर्ने समस्या अब छैन । 

यसमा निरन्तर श्रब्य–दृश्य हुने भएको हुँदा एम.आर.आई. गराउने बिरामीलाई डरको सट्टा मनोरञ्जन दिने र तिनले आफ्नो छनौटको सङ्गीत वा भिडियो हेर्न मिल्ने विशेषता रहेका छन् । यो प्रणालीमा सामान्य एम.आर.आई.मा उत्पन्न अप्रिय ध्वनि भन्दा झण्डै ८०% कम (ध्वनि) आवाज उत्पन्न हुने हुँदा बिरामीले डराउन नपर्ने बताइएको छ । 

हिमानीबाट समुद्घाटित इमेजिङ्ग सेवा अन्तर्गत विश्वकै उत्कृष्ट मध्येको एक अत्याधुनिक १२८ स्लाइसको सी.टी. स्क्यान सेवा पनि समावेश छ ।

यस सी.टी. स्क्यानमा अन्य सामान्य सी.टी. स्क्यानको तुलनामा एक्स–रेको विकीरण ८०% ले कम हुने, उत्कृष्ट फोटो गुणस्तरका साथ अन्य थुप्रै अत्याधुनिक विशेषताहरू रहेका छन् । यसले मुटु, मस्तिष्क, मांशपेशी, अस्थीपञ्जर आदि सबै प्रणालीको खराबी/रोग पत्ता लगाउन सक्नेछ ।

समुद्घाटन समारोहमा आफ्नो स्वागत मन्तव्य राख्दै नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरी शाक्यले हस्पिटलले आगामी पाँचवर्षभित्र सम्पन्न गर्ने विविध सेवा विस्तार योजना बारे प्रकाश पारिन । त्यसरी नै नर्भिकका स्नायुरोग विशेषज्ञ तथा चिकित्सा निर्देशक डा. पङ्कज जलानले अत्याधुनिक एम.आर.आई. तथा सी.टी. स्क्यान सेवाको अत्याधुनिक एवम् वैज्ञानिक विशेषताहरूबारे व्याख्या गरे ।

सो अवसरमा नर्भिक इन्टरनेशनल हस्पिटल तथा लक्ष्मी बैंकद्वारा संयुक्तरुपमा सुरुवात गरिन लागिएको “नर्भिक–प्रिमिलेज डेविट कार्ड”को समेत शुभारम्भ गरियो । 

लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्गले “नर्भिक प्रिभिलेज डेबिट कार्ड”को आवश्यकता उपादेयता, उद्देश्य, सेवा, प्रयोग र सुविधा बारे विस्तृत खाका प्रस्तुत गरे । 

“नर्भिक प्रिभिलेज डेविट कार्ड” प्राप्त गर्ने व्यक्तिलाई नर्भिकले विविध स्वास्थ्य परीक्षण प्याकेजहरू, रेडियोलोजी सेवा, प्रयोगशाला सेवा, शल्यक्रिया तथा अन्य प्रक्रियाहरू, नन्–इन्भेसिभ कार्डियोलोजी सेवा, सी.टी. / एम.आर.आई. र म्यामोग्राम सेवा तथा शय्या शुल्कमा समेत छुट उपलब्ध गराउनेछ ।

समारोहमा हस्पिटलका अध्यक्ष बसन्त चौधरीले प्रमुख अतिथि पूर्व युवराज्ञी हिमानी राज्यलक्ष्मीदेवी शाहलाई मायाको चिनो तथा प्रशंसापत्र अर्पण गरेका थिए ।