काठमाण्डौ । जाजरकोट भूकम्पमा परी ४ चार जनाको मृत्यु भएको पुष्टि भएको छ। योसँगै मृतकको संख्या १३६ पुगेको छ। 

भूकम्पमा परी जाजरकोटमा ९८ जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय कर्णालीले जनाएको छ। प्रहरीका अनुसार जाजरकोटमा महिला ६९ जना र पुरुष २९ जना तथा पश्चिम रुकुममा महिला १९ जना र पुरुष १९ जनाको मृत्यु भएको छ। 

भूकम्पका कारण जाजरकोटमा ८१ जना र रुकुम पश्चिममा ७२ जना घाइते भएका छन्। घाइतेहरुको उपचारमा काठमाण्डौबाट स्वास्थ्यकर्मी घटनास्थलमा परिचालन गरिएको छ। गम्भीर घाइतेहरुलाई थप उपचारका लागि सुर्खेतका अस्पतालहरुमा लगिएको छ। 

यसैबीच प्रभावित क्षेत्रहरुको उद्धारमा नेपाली सेनाको ४ वटा एयरक्राफ्ट परिचालन गरिएको छ। काठमाण्डौबाट स्काई ट्रक र ३ वटा हेलिकप्टरमा मेडिकल सामग्रीसहितको जनशक्ति प्रभावित क्षेत्रमा पठाइएको छ। प्रभावित क्षेत्रमा १६ जनाको मेडिकल टिम घटनास्थलमा घाइतेको उपचारमा खटिएका छन्। 

उता प्रधानमन्त्री पुष्पकमल दाहाल चढेर भूकम्प प्रभावित क्षेत्र पुगेको हेलिकोप्टरबाटै घाइतेहरुको उद्धार गरिएको छ। प्रधानमन्त्री सवार हेलिकप्टरले जाजरकोटको नलगाडबाट ७ जना घाइते र तिनका ७ जना कुरुवालाई लिएर सुर्खेत पुगेको छ।