काठमाण्डौ। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले भैरहवा अन्तरराष्ट्रिय विमानस्थललाई पूर्णक्षमतामा सञ्चालनमा ल्याउन माग गरेका छन् ।

रुपन्देहीको भैरहवामा बुधबारदेखि सुरु भएको छैटौं लुम्बिनी प्रादेशिक महोत्सवलाई सम्वोधन गर्दै अध्यक्ष मल्लले विमानस्थल सञ्चालनमा आउन नसक्दा निजी क्षेत्रको अर्बैं रुपैयाँ लगानी जोखिममा परेको बताए । उनले भने, ‘विमानस्थल निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन सकेको छैन, अहिले निजी क्षेत्रको मात्र हैन सरकारको लगानी पनि जोखिममा छ ।’ 

विमानस्थल सञ्चालनसँगै गौतमबुद्ध जन्मस्थल लुम्विनीलाई अन्तरराष्ट्रिय पर्यटकको आकर्षणको केन्द्र बनाउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । उनले भने, ‘विमानस्थल बनेपछि, व्यवसायिक गतिविति बढ्ला भनेर आसपासमा करोडौं रुपैयाँ लगानी गरेका व्यवसायीहरुको लगानी जोखिममा परेको छ । यतातर्फ सरकार र सम्वन्धित सबै निकायको ध्यान जान जरुरी छ, ।’  

अर्को प्रसंगमा अध्यक्ष मल्लले सार्वजनिक निजी साझेदारीमार्फत् भैरहवा सेजलाई सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए । भैरहवा सेजमा उद्यमी व्यवसायिको सहभागिता गर्नका लागि विभिन्न नीतिगत समस्याहरु रहेको उनको भनाइ छ । यद्यपि भैरहवा सेजमा साना तथा मझौला उद्यमी एवं घरेलु उत्पादनहरुको पबर्द्धन गर्नुपर्नेमा अध्यक्ष मल्लले जोडदिए ।

मुलुककै सबैभन्दा धेरै राजस्व संकलन गर्ने भन्सार नाकामध्ये रुपन्देही पनि एउटा भएको भन्दै उनले खुला सीमाको फाईदा उठाएर हुने अवैध व्यापारलाई भने नियन्त्रण गर्नुपर्ने बताए ।