– अर्जुन तिमिल्सिना

काठमाण्डौ । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले भोलि माघ २३ गतेबाट झन्डै ३५ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्दैछ।

पछिल्लो समय प्राथमिक बजारमा आईपीओ भर्नेको संख्या बढ्दै गएको छ। यस्तो अवस्थामा निष्कासन हुन लागेको यो आईपीओमा पनि लगानीकर्ताको ओइरो लाग्ने नै देखिन्छ। 

केही समययता दोस्रो बजारमा जलविद्युत् कम्पनीहरुको सेयरमा उछाल आउन थालेका छन्। यस्तो अवस्थामा लगानीकर्ताहरुले यस्ता कम्पनीका वित्तीय विवरण अध्ययन गरेर लगानी गर्नु उचित हुन्छ। 

यही सिलसिलामा आईपीओ निष्कासन गर्न लागेको ग्रीनलाइफ हाइड्रोले लगानीकर्ताहरुलाई कतिसम्म रिटर्न दिन सक्छ त? यो कम्पनीले आफ्नो आह्वानपत्रमा अबको ३ वर्षसम्मको वित्तीय प्रक्षेपणबाट हेर्न सकिन्छ। 

कम्पनीले अबको ३ वर्षमा खुद नाफा १५ करोड ८२  लाख रुपैयाँको उचाइमा पुर्याउने प्रक्षेपण गरेको छ। जसअनुसार यो प्रक्षेपित नाफा आर्थिक वर्ष २०७९÷८० लागि हो । 

चालु आर्थिक वर्ष २०७७/७८ मा २ करोड ३७ लाख रुपैयाँ घाटा हुने प्रक्षेपण गरेको कम्पनीले आगामी वर्ष २०७८/७९ मा भने यस्तो नाफा बढेर १२ करोड ८८ लाख रुपैयाँ हुने अनुमान गरिएको छ।

नेटवर्थमा औसत प्रतिफल आर्थिक वर्ष २०७९/८० ७.६ प्रतिशत रहने प्रक्षेपण गरेको कम्पनी आर्थिक वर्ष २०७८/७९ ६.७६ प्रतिशत र आर्थिक वर्ष २०७७/७८ १.३४ प्रतिशत ऋणात्मक रहने अनुमान गरेको छ। 

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर आव २०७९/८० सम्म ८.७९ रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ। अघिल्ला दुई वर्ष भने ईपीएस क्रमशः आव २०७८/८९ मा ७.१६ रुपैयाँ र २०७७/७८ मा १.३२ रुपैयाँले ऋणात्मक रहने अनुमान गरिएको छ।

कम्पनीको प्रतिसेयर नेटवर्थ बढेर आव २०७९/८० सम्म ११४.७९ पुग्ने प्रक्षेपण गरिएको छ। अघिल्ला दुई वर्ष भने प्रतिसेयर नेटवर्थ क्रमशः १०५.५९ रुपैयाँ र ९८.३३ रुपैयाँ रहने अनुमान गरिएको छ। हाल यो कम्पनीको नेटवर्थ १०० रुपैयाँभन्दा तल रहेको छ।

हाल १ अर्ब ८० करोड रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीले लगानी फिर्ता हुने अवधि ८.१० वर्ष हुने अनुमान गरेको छ। 

चालु वर्ष २ करोड ३७ लाख रुपैयाँ ऋणात्मक हुने भनिएको जगेडा कोषको आकार आउँदो वर्ष भने १० करोड ५१ लाख रुपैयाँले धनात्मक हुने र आर्थिक वर्ष २०७९÷८० बढेर २६ करोड ३४ लाख रुपैयाँ हुने प्रक्षेपण गरिएको छ। 

कम्पनीले १०० अंकित दरका कुल ३४ करोड ९६ लाख ४० हजार रुपैयाँ ३४ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो। यसमा यसअघि स्थानीय बासिन्दालाई जारी गरी बिक्री नभई बाँकी रहेको १६ लाख ९६ हजार ४०० कित्ता पनि समावेश गरिएको छ।

कुल कित्तामध्ये १ लाख ७४ हजार ८२० कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरिएको छ भने ६९ हजार ९२८ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी रहेको ३२ लाख ५१ हजार ५९८ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

यो आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत पुस २ गते निष्कासन अनुमति दिएको थियो। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट्स लिमिटेड रहेको छ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्।

आईपीओमा धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका ताकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ।

आईपीओ निष्कासन बन्द छिटोमा माघ २७ गते र ढिलोमा फागुन ७ गते बैंकिङ समयपछि हुने भनिएको छ। कयर रेटिङ नेपाल लिमिटेडले यो आईपीओलाई ‘केयर–एनपी बी प्लस (आईएस)’ प्रदान गरेको छ। यस क्रडिट रेटिङले निष्कासनकर्ता वित्तीय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको आधार जनाउँदछ। यो रेटिङको वहाल अवधि सन् २०२१ नोभेम्बर २५ सम्म रहेको छ। 

यो कम्पनीले दोलखाको खानीखोलामा ‘खानीखोला–१ जलविद्युत् आयोजना’ निर्माण गरिरहेको छ। जसको प्रतिमेगावाट लागत १९ करोड १३ लाख ४७ हजार २७० रुपैयाँ रहेको छ। यो आयोजनाको क्षमता ४० मेगावाट रहेको छ। 

कम्पनीले यो आयोजनाबाट उत्पादित विद्युत् व्यापारिक उत्पादन प्रारम्भ आगामी वैशाखबाट गर्नेछ।