काठमाण्डौ । कोरोना संक्रमणको मामिला घट्दै गएपछि भारतको राजधानी दिल्लीमा लकडाउन खुकुलो पार्दै भोलि सोमबारबाट पसल, मल र रेस्टुराँ खोल्न दिइने भएको छ। 

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आइतबार दिल्लीमा लकडाउन खुकुलो पार्दै पसल, मल र रेस्टुराँ खोल्न दिइने घोषणा गरेका हुन्। ‘हाललाई ५० प्रतिशत क्षमतामा पसल, मल र रेस्टुराँ बिहान १० बजदेखि राति ८ बजेसम्म खोल्न दिइनेछ’, उनले भने, ‘यो एक साता ट्रायल बेसिसमा हुनेछ।’

त्यस्तै दिल्लीमा मेट्रो र सार्वजनिक बस पनि ५० प्रतिशत यात्रु राखेरमात्र सञ्चालन गर्न दिइने भएको छ। अटो र क्याबमा पनि केबल २ यात्रुमात्र राख्न पाइनेछ।

यसैगरी विवाह र मलामीजस्ता सामाजिक कार्यमा पनि २० जनामात्र सहभागी हुन पाउने मुख्यमन्त्री केजरीवालले बताए। ‘पार्टी प्यालेज, स्पा, जिम, स्विमिङ पुल, पब्लिक पार्क र गार्डेन भने बन्द रहनेछन्’, उनले भने।

दिल्लीमा सिनमा हल, मल्टिप्लेक्स, इन्टरटेनमेन्ट पार्कलाई पनि खोल्न अनुमति दिइएको छैन। स्कुल र कलेज पनि बन्द रहने भनिएको छ। – एजेन्सी