काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण अभियानअन्तर्गत स्कुलहरु तत्काल नखुल्ने भएपछि सरकारले कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई घरबाटै पढ्ने वातावरण मिलाउनका लागि भोलि असार १ गतेदेखि भर्चुअल क्लास सुरु गर्दैछ।

सरकारले असार १ गतेदेखि घरबाटै विद्यार्थीहरुलाई रेडियो, टेलिभिजन र इन्टरनेटमार्फत पठनपाठन गराउने अभियान सुरु गर्ने भएको हो। जसअनुसार शिक्षा, विज्ञान तथा प्राविधिक मन्त्रालयअन्तर्गतको  शिक्षा तथा मानव स्रोत विकास केन्द्र श्रव्यदृश्य शाखाले टेलिभिजनमार्फत सञ्चालन हुने कक्षा १ देखि १० सम्मको विषयगत पठनपाठनको असार १ गतेदेखि १२ गतेसम्म दुई साताका लागि तालिका सार्वजनिक गरेको छ। 

तालिका अनुसार कक्षा ९ को पठनपाठन बिहान ७ बजेदेखि ९ बजेसम्म र कक्षा १० को साँझ ५ बजेदेखि ७ बजेसम्म हुने भएको छ। हरेक दिन ३ वटा विषयको पठनपाठन हुनेछ। 

यसैगरी असार १ गतेदेखि १२ गतेसम्म कक्षा १० पुनः ३५ मिनेटको बिहान १० बजेदेखि १२ः३५ सम्म तीनवटा विषय पठनपाठन हुनेछ। त्यस्तै कक्षा ९ को मध्याह्न १२ बजेदेखि २ बजेसम्म तीनवटा विषयको पठनपाठन हुनेछ। 

यी कक्षाहरु डिसहोम, नेट टीभी र म्याक्स टीभीमा श्रव्यदृश्यमार्फत हुनेछ। 

यसैगरी सरकारले कक्षा १ देखि ८ सम्मका अंग्रेजी, नेपाली, गणित र विज्ञान चारवटा कक्षाको टेलिभिजनमार्फत हुने श्रव्यदृश्यसहितको पठनपाठनको तालिका पनि सार्वजनिक गरेको छ। जसअनुसार असार १ गतेदेखि असार १२ गतेसम्म पठनपाठन हुनेछ। 

यो तालिकाअनुसार कक्षा हरेक दिन कक्षा १ को बिहान १० देखि १०ः३५ सम्म, कक्षा २ को १०ः३५ देखि ११ः १० बजेसम्म, कक्षा ३ को ११ः१५ देखि ११ः५० सम्म र कक्षा ४ को ११ः५० देखि १२ः२५ सम्म हुनेछ। त्यस्तै कक्षा ५ को मध्याह्न १२ः३० देखि १ः०५ बजेसम्म, कक्षा ६ को १ः०५ देखि १ः४० सम्म, कक्षा ७ को १ः४५ देखि २ः२० सम्म र कक्षा ८ को २ः२० देखि दिउँसो ३ः०० बजेसम्म हुन्छ। 

कक्षा १ देखि ८ बजेसम्म श्रव्यदृश्य पठनपाठन भने एनटीभी प्लसमार्फत हुनेछ। 

पठनपाठनअन्तर्गत पाठन हुन समय प्राविधिक कारणले बढीमा २ देखि ५ मिनेटसम्म फरक पर्न सक्ने जनाइएको छ।

यो दुई साताको पढाइपछि पुनः अर्को दुई साताका लागि तालिका सार्वजनिक गरिने श्रव्यदृश्य शाखाले जनाएको छ। 

कक्षा ९ र १० का श्रव्यदृश्य पाठहरु यो केन्द्रको युट्युव च्यानल धधध।www.youtube.com/needvirtual बाट आफ्नोअनुकूल समय आवश्यकताअनुसार हेर्न सकिने पनि केन्द्रले जनाएको छ।