काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै पूर्व आयुक्तविरुद्ध मंगलबार भ्रष्टाचार मुद्धा दायर गरेको छ । 

देशमा व्याप्त भ्रष्टाचार नियन्त्रणको जिम्मेवारी पाएको आयोगले पूर्व आयुक्त राजनारायण पाठकविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको हो । 

आफ्नै आयुक्तविरुद्ध भ्रष्टाचार नियन्त्रणको जिम्मेवारी पाएको निकायले भ्रष्टाचारकै मुद्धा दायर गरेको यो विश्वकै दुर्लभ घटना हो ।

पाठकले पदको दुरुपयोग गरी कसूर गरेको देखिएकोले उनीविरुद्ध ७८ लाख बिगो कायम गरी भ्रष्टाचार मुद्धा दायर गरिएको अख्तियारले प्रष्ट्याएको छ ।

उनले एक कलेजको विवाद मिलाउने नाममा घूस लिएको देखिने भिडिओ सञ्चारमाध्यमहरूमा आएपछि उनले राजीनामा दिएका थिए।

तत्कालीन आयुक्त राजनारायण पाठकले भक्तपुर, चाँगु नारायणस्थित नेपाल इन्जिनियरिङ्ग कलेजको स्वामित्व विवादसम्बन्धी उजुरी मिलाइदिने भनी उक्त कलेजका सञ्चालक भनिएका लम्बोदरकुमार न्यौपानेले दिएको रु. ७८ लाख घूस लिएका थिए । तर, घूस लिएर पनि विवाद नमिलाएपछि गोप्य रुपमा खिचिएको भिडियो तथा श्रव्य सामाग्री बाहिरिएको थियो ।  

सो विषयमा आयोगलाई प्राप्त श्रव्य दृश्य सामग्रीहरुबाट समेत पुष्टि भएकोले उनीविरुद्ध अदालतमा मुद्धा दायर गरिएको अख्तियारको भनाई छ ।

आयोगले कलेज संचालक भनिएका लम्बोदरकुमार न्यौपानेविरुद्ध पनि पाठकसँगै मुद्धा दायर गरेको छ । दुवैजनाविरुद्ध ७८ लाख बिगो कायम गरी भ्रष्टाचार मुद्धा दायर गरिएको आयोगका प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

मुद्दामा पूर्वआयुक्त पाठकले भ्रष्टाचार गरेको पुष्टि भएकोले जरिबाना र कैद सजाय र उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदमा बहाल रहेकै अवस्थामा कसुर गरेको हुँदा थप सजायको समेत माग गरिएको छ।