काठमाण्डौ । पूँजीबजारले मंगलबार यूटर्न लिएको छ । बिमा समूहले समेत यूटर्न लिंदा र बैकिंग समूहको कारोबारमा पनि करेक्सन हुँदा दोहोरो अंकले बजार परिसूचक बढेको हो । 

मंगलबार नेप्से परिसूचक १३.७१ अंकले उकालो लागी १६२८.८१ अंकमा पुगेको छ । होटल र बित्त बाहेक सबै समूहको सूचकमा हरियो पोतियो । 

सबैभन्दा बढी बिमा समूहको परिसूचक १७३.७ अंकले उक्लियो । जलविद्युत समूह ५३.३२ अंकले उकालो लाग्दा वाणिज्य बैंक समूहको सूचकमा पनि ११.३१ अंकको करेक्सन देखियो । अन्य समूह ४.७ र विकास बैंक समूह १.२१ अंकले उक्लिए । 

होटल समूह र बित्त समूह भने क्रमशः १४.७८ र ४.१४ अंकले ओरालो लागे । मंगलबार सेन्सेटिभ र फ्लोट इण्डेक्स क्रमशः २.७४ र १.०७ अंकले उक्लिए । 

मंगलबार कारोबार रकममा पनि सामान्य करेक्सन देखियो । १ सय ३४ कम्पनीका १८ लाख १९ हजार ९ सय १३ कित्ता शेयर १ अर्ब २२ करोड २ लाख ४६ हजार रुपैयाँमा किनबेच भयो । 

बिमा समूहले मात्र ५३ करोड कारोबार गर्यो भने दोश्रोमा बैकिंग समूहको साढे २७ करोडको सेयर किनबेच भयो । 

मंगलबार नेपाल इन्स्योरेन्स कम्पनी लिमीटेडको ९ करोड ६२ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ९९ लाखको कारोबार गरे । उत्कृष्ट कारोबार गर्ने टप १० कम्पनीमा बिमाकै बर्चश्व रहे पनि जलविद्युतले समेत सम्मानजनक उपस्थिति जनायो भने दुईवटा बैंक पनि परे ।