काठमाण्डौ । सोमबार झै मंगलबार पनि पूँजीबजारमा बैंकहरुकै चमकधमक देखिएको छ भने साताको पहिलो दुई दिन घटेको बिमा समूहको बजार परिसूचकमा करेक्सन भएको छ । 

बैंक र बिमा अगाडि देखिए पनि बाँकी सबै समूहको परिसूचक हराभरा भएको छ, हरियो पोतिएको छ ।

बैंक र बिमा लगानीकर्ताको रोजाईमा पर्दा मंगलबार नेप्से परिसूचक ११.३५ अंकले उकालो लागी १७२४.१९ अंकको नयाँ उचाईमा पुगेको हो । 

सबैभन्दा धेरै बिमा समूह ३७.७५ अंकले उक्लिएको छ भने वाणिज्य बैंक र विकास बैंक समूह क्रमशः १२.७८ र ५.६९ अंकले उकालो लागेका छन् । जलविद्युत समूह ३२.९९, बित्त समूह ०.४, व्यापार समूह १.४१ र अन्य समूह ४.७ अंकले उकालो लागेको छ । 

उत्पादनमूलक र होटल समूहको सूचकमा क्रमशः १४.३९ र १७.२२ अंकले बढोत्तरी भएको छ ।सेन्सेटिभ र फ्लोट इण्डेक्स क्रमशः २.५८ र ०.९५ अंकले उक्लिए । 

मंगलबार १ सय ३६ कम्पनीका ४९ लाख ४१ हजार ८ सय ३० कित्ता सेयर १ अर्ब ८४ करोड १७ लाखमा किनबेच भयो । 
मंगलबार सबैभन्दा बढी एनएमबी बैंकले ८ करोड ९२ लाख भन्दा बढीको कारोबार गर्यो । लुम्बिनी जनरल इन्स्योरेन्सको ८ करोड ३६ लाख, नेपाल बंगलादेश बैंकको ८ करोड १९ लाख, ग्लोबल आइएमई बैंकको ७ करोड ६७ लाख, एसबीआई बैंकको ७ करोड ६० लाखको सेयर किनबेच भयो । 

धेरै सेयर कारोबार गर्ने उत्कृष्ट १० कम्पनीको सूचिमा ७ स्थान वाणिज्य बैंकले कब्जा गरे भने बिमा समूह ३ स्थानमा सीमित बन्न पुग्यो ।