काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कारोबार सदस्यता पाएका ७ वटा नयाँ ब्रोकरले परीक्षण कारोबार (मक ट्रेडिङ) सुरु गरेका छन्।

गत असार २१ गते नेप्सेबाट नयाँ ब्रोकर कम्पनीहरु सन सेक्युरिटिज, हिमालयन ब्रोकरेज, मियो सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज, भोले गणेश सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज र प्रोपर्टी विजार्ड कारोबार सदस्यता पाएका थिए। नेप्सेको सिस्टमसँग जोडिए सोमबारदेखि ती नयाँ ब्रोकरले मक ट्रेडिङ गरिरहेका हुन्। ‘मक ट्रेडिङमा समस्या नदेखिएमा ती ब्रोकरले पूर्ण रुपमा कारोबार सञ्चालन गर्नेछन्’, नेप्सेका एक अधिकारीले भने। 

उता सीडीएससीले सोमबार नै ती नयाँ ब्रोकरलाई राफसाफ सदस्यता प्रदान गरेको छ। ‘हिजो हामीले सीडीएससीबाट कारोबार राफसाफ सदस्यता पाइसकेका छौँ’, नयाँ ब्रोकर एक सञ्चालकले भने, ‘क्लियरिङ बैंकहरुको सिस्टमसँग कनेक्ट हुनका लागि प्रक्रिया अगाडि बढाएका छौँ।’

अब मक ट्रेडिङ सकेपछि पूर्ण रुपमा ब्रोकरेज सेवा सञ्चालनमा ल्याइने ती सञ्चालकले जानकारी दिए। ‘हाम्रो लक्ष्य असारभित्रै कारोबार सञ्चालन गर्ने हो’, ती सञ्चालकले भने, ‘त्यसैले हामी सबै काम पूरा गर्न लागिपरेका छौँ।’

प्रक्रियागत ढंगले अगाडि बढ्दा कहीँकतै ढिलो भएमा साउनबाट भने कारोबार सञ्चालनमा ल्याउने निश्चित रहेको ती ब्रोकर सञ्चालकले बताए।