काठमाण्डौ। मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले कम्पनीको सेयर रजिस्ट्रारसम्बन्धी कार्य गर्नका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई सेयर रजिस्ट्रार (आरटीएस) मा नियुक्त गरेको छ। 

यस सम्बन्धमा बिहीबार मध्य भोटेकोशी जलविद्युत कम्पनीको केन्द्रीय कार्यालयमा भएको एक कार्यक्रममा कम्पनी र क्यापिटलबीच सेयर रजिष्ट्रारसम्बन्धी सम्झौता सम्पन्न भएको छ। सम्झौतापत्रमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामगोपाल शिवाकोटी  र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसणि ढकालले हस्ताक्षर गरेका छन्। 

सिन्धुपाल्चोक जिल्लामा निर्माणाधिन १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको मध्य भोटेकोशी कम्पनीको अधिकृत पुँजी रु. ६ अर्ब २१ करोड तथा जारी पुँजी रु. ६ अर्ब रहेको छ। 

सर्वसाधारण समूहतर्फ छुट्याइएको ४९ प्रतिशत सेयरमध्ये कर्मचारी सञ्चय कोषमा रकम सञ्चय गर्ने सञ्चयकर्ता कर्मचारी, संस्थापक सेयरधनी संस्थाहरु क्रमशः चिलिमे जलविद्युत कम्पनी लिमिटेड, नेपाल विद्युत प्राधिकरण, नेपाल अरनिको हाइड्रोपावर लिमिटेड, सिन्धु इन्भेस्टमेन्ट कम्पनी प्रालि, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी लिमिटेड तथा सिन्धु भोटेकोशी हाइड्रोपावर लिमिटेड र ऋणदाता संस्था कर्मचारी संचय कोषका कर्मचारीहरुलाई प्रथम चरणमा २४ प्रतिशत सेयर यसअघि नै निष्कासन गरी बाँडफाँट गरिसकिएको छ। बाँकी २५ प्रतिशत सेयरमध्ये आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाका स्थानीय बासिन्दाहरुका लागि १० प्रतिशत अर्थात रु. ६० करोड र सर्वसाधारणको लागि १५ प्रतिशत अर्थात रु. ९० करोडबराबरको सेयर हालैमात्र सार्वजनिक निष्कासन गरी बाँडफाँटसमेत गरिसकिएको छ।

आगामी साताभित्रै मध्य भोटेकोशीको आईपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकरण गर्नका लागि प्रक्रिया अगाडि बढाइएको ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ढकालले बताए। धितोपत्र दोस्रो बजारमा सेयर कारोबार पनि आगामी सातामैबाटै आउन सक्ने सम्भावना रहेको छ।