काठमाण्डौ। मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको पहिलो चरणमा निष्कासन गरेको आईपीओ भोलि सोमबार बाँडफाँड हुने भएको छ।

कम्पनीले सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित क्षेत्रका बासिन्दा र जिल्लाका अन्य क्षेत्र बासिन्दाका लागि गत साउन ५ गतेदेखि साउन ३२ गतेसम्म निष्कासन गरेको आईपीओ बाँडफाँड हुने भएको हो। बिक्री प्रबन्धकका ग्लोबल आइएमई क्यापिटलका अनुसार आईपीओ भोलि बिहान ९ बजे बाँडफाँड हुनेछ।

कम्पनीले पहिलो चरणमा १०० रुपैयाँ अंकित दरका कुल ६० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। जसमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि छुट्याइएको थियो। बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्तामा सिन्धुपाल्चोक जिल्लाकै अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुलाई छुट्याइएको थियो।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १ लाख १ हजार २८ जना आवेदकबाट १ करोड ९३ लाख २५ हजार ७८० कित्ताका लागि आवेदन दिएका छन्। जसअनुसार यो आईपीओमा ३.२२ गुणाले ओभरसब्सक्राइडब्स भएको छ।