काठमाण्डौ । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडको सेयर कारोबार दोस्रो बजारमा भोलि सोमबारबाट कारोबारमा आउने भएको छ। 

मनकामना इन्जिनियरिङको आईपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। सोहीबमोजिम यो कम्पनीको सेयर पनि सोमबारबाट कारोबारमा आउने भएको छ। 

नेप्सेमा मनकामना इन्जिनियरिङको १०० रुपैयाँ अंकित दरका कुल ८० लाख कित्ता आईपीओ सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ५२ लाख कित्ता (६५ प्रतिशत) र सर्वसाधारण समूह (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय र कर्मचारीसहित)को २८ लाख कित्ता (३५ प्रतिशत) रहेको छ। 

नेप्सेले यो कम्पनीलाई ‘एमईएचएल’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सेले यो कम्पनीलाई प्रतिकित्ता न्यूनतम ७४ रुपैयाँदेखि अधिकतममा २२२ रुपैयाँ तोकेको छ। 

भोलि स्पेसल प्रि–ओपन सेसनमा यदि यो कम्पनीको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित सत्रका कारोबार खुल्नेछ।