काठमाण्डौ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले व्यावसायिकता अभिवृद्धि गर्दै उच्च कार्यकुशलता प्रदर्शन गर्न मर्चेन्ट बैंकहरुलाई निर्देशन दिएका छन्। 

नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा पत्रकारको क्षमता अभिवृद्धिका लागि मंगलबार आयोजित कार्यक्रममा अध्यक्ष ढुंगानाले यस्तो निर्देशन दिएका हुन्। ‘पछिल्ला प्रयासका कारण प्राथमिक बजारको स्वरूप र मर्चेन्ट बैंकरको भूमिका विस्तार हुँदै गएको छ, यससँगै प्रतिस्पर्धासमेत उच्च बन्दै गएको छ’, उनले भने, ‘त्यसैले अब मर्चेन्ट बैंकहरुले व्यावसायिकता अभिवृद्धिमार्फत उच्च कार्यकुशलता प्रदर्शन गर्न आवश्यक छ।’

मर्चेन्ट बैंकरका समस्याको समाधान गर्दै यस क्षेत्रको विकास विस्तारका लागि बोर्ड तयार रहेको पनि ढुंगानाले बताए। धितोपत्र व्यवसायीहरूबाट सामाजिक उत्तरदायित्वसम्बन्धी गतिविधि सञ्चालन सम्बन्धमा समेत नीतिगत व्यवस्था गरेको पनि उनले स्मरण गराए। 

कार्यक्रममा अध्यक्ष ढुंगानाले पुँजी बजारमा लगानीकर्ताका लागि सूचना नै सम्पत्तिका रूपमा रहने बताए। ‘सूचना लगानीको प्रमुख आधार भएको हुँदा आर्थिक पत्रकारहरूले कसैप्रति पूर्वाग्राह नराखी सूचना सम्प्रेषण गर्नुपर्छ’, उनले भने। 

ढुंगानाले पुँजी बजार प्राविधिक एवं संवेदनशील बजार भएको हुनाले सूचना सम्प्रेषणमा विशेष सावधानी अपनाउन पत्रकारलाई आग्रह गरे। उनले सूचना सम्प्रेषणमा हुने सानो असावधानीले पनि बजारमा निकै ठूलो असर पर्ने र सर्वसाधारणको सम्पतिमा क्षण भरमै क्षयीकरण हुने सम्भावना रहेको हुँदा यस क्षेत्रमा समाचार लेख्दा विषयवस्तुको गाम्भीर्यता बुझी सत्य र तथ्यपूरक सूचना सम्प्रेषणमा मात्र जोड दिए।