– अनन्त्य सुन्दर

काठमाण्डौ । स्थानीय निकायको चुनाव जेठ ४ मा हुने चर्चा विगत केही दिनदेखि हुँदै आएको थियो। यसको प्रत्यक्ष असर पुँजीबजारमा समेत परेको देखिन्छ। केही दिनदेखि चुनाव कहिले हुन्छ भन्ने अन्यौलता बढेसँगै बजारमा के गर्ने भनेर लगानीकताहरुमा पनि अन्यौलमा भएको देखिन्थ्यो।

बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय निकायको चुनाव एकै चरणमा वैशाख ३० मा गर्ने निर्णय गरेको छ। यसको प्रत्यक्ष प्रभाव सेयर बजारमा पर्ने देखिन्छ। अब आउने दिनहरुमा बजार के होला ? भन्ने आमलगानीकर्तामा चर्चा र बहसको विषय बनेको छ।

मर्चेन्ट बैंकका सीईओहरु सरकारले चुनावको मिति घोषणा गरेको निर्णयले बजारमा सकारात्मक प्रभाव पर्ने बताउँछन्। सरकारको खर्च हुनुका साथै अर्थतन्त्र चलायमान हुने भएकाले यसको प्रत्यक्ष प्रभाव सेयर बजारमा हुने उनीहरूको तर्क रहेको छ।

मेगा क्यापिटलका सीईओ सबिर श्रेष्ठ विगतमा पनि चुनावको सकारात्मक असर बजारमा पर्ने गरेको बताउँछन्। ‘चुनावमा तरलता सहज हुने गरेको छ। त्यसका साथै नयाँ साल र कम्पनीहरुको त्रैमासिक रिपोर्ट आउने भएकाले यसको सकारात्मक असर बजारमा पर्ने देखिन्छ’, उनी भन्छन्।

‘चुनावमा कम्पनीहरुको आयस्रोत नै बढ्ने भन्ने हुँदैन तर चुनावले बजारमा थप ऊर्जा प्रदान गर्ने भएकाले यो माहौल लगानीकर्ताहरूको लागि लगानीको अवसर भने अवश्य हो’, श्रेष्ठले भने।

एनआईसी एसिया क्यापिटलका सीईओ रमेन्द्र रायमाझीले विगतमा चुनाव घोषणासँगै बजारमा सकारात्मक प्रभाव हुने गरेको बताए। ‘३२०० बाट करेक्सन आएको बजारले बढ्ने क्रममा माथिको रेसिस्टेन्स ब्रेक गर्न नसकेको देखिन्छ’, उनले भने, ‘चुनावको घोषणासँगै चुनावमा पैसा खर्च हुने र तरलता सहज हुने भएकाले लगानीकर्ताहरुको बजारप्रति सकारात्मक अपेक्षा भएको देखिन्छ।’

सिभिल क्यापिटलका सीईओ झनकराज ढुंगेल बजारमा विशेष प्रभाव तरलता र ब्याजदरको हुने गरेको बताउँछन्। ‘चुनावमा तरलता सहज हुने भएकाले यसको सकारात्मक प्रभाव बजारमा हुनु नौलो कुरा होइन’, उनले भने, ‘बजारलाई विगत केही वर्षदेखि नजिकबाट हेर्दै आएको छु, मेरो अनुभव र विश्लेषणअनुसार बजार कता जान्छ भन्ने निर्धारण गर्ने प्रमुख कारक तरलता र ब्याजदर हो। चुनावमा क्यास फ्लो बढ्ने भएकाले सरकारको चुनावको मिति घोषणाले बजारमा पोजेटिभ  इम्प्याक्ट पर्ने देखिन्छ।’

‘लकडाउनको बेला अधिकांश लगानीकर्ताहरु बजार प्रवेश गरेका थिए। अहिले डिम्याट खाता हुनेहरुको संख्या झन्डै ४८ लाख छ। विद्यार्थी, शिक्षक, कर्मचारीलगायत सबै किसिमका नागरिक बजारमा आबद्ध छन्’, ढुंगेलले भने, ‘बजारमा हुने कारोबार रकमले ठूलो होस् वा सानो लगानीकर्ता दुवैलाई ठूलो असर गर्छ। चुनावमा तरलता सहज हुनुका साथै कारोबार रकममा सुधार आउने भएकाले मेरो अनुभवका आधार स्थानीय चुनावको वैशाख ३० मा गरिने सरकारको निर्णयले बजारमा सकारात्मक असर गर्छ।’

मर्चेन्ट बैंकर्स एसोसिएसन नेपालका अध्यक्ष मेखबहादुर थापा तरलता सहज हुने भएकाले बजारमा सकारात्मक असर हुने बताउँछन्। ‘सरकारको चुनाव केन्द्रित खर्च पनि बढ्छ। त्यसैले तरलता सहज हुने देखिन्छ’, उनले भने।

‘चुनावमा तरलता सहज हुने भएकाले बजारमा सकारात्मक प्रभाव पर्ने हाम्रो बुझाई छ। तर, कहिलेकाहीँ पुँजी बजारमा अनपेक्षित र कसैले नसोचेको पनि हुने गरेको छ’ थापा भन्छन्, ‘त्यसो नभएमा सरकारको आजको निर्णयले बजारमा सकारात्मक प्रभाव पर्ने नै देखिन्छ।’