– अनन्त्य सुन्दर
काठमाण्डौ । मर्जर सम्झौतापछि आँधिखोला लघुवित्त र सिवाईसी नेपाल लघुवित्तको सेयर कारोबार गत साताबाट रोक्का गरिएको छ।
सिवाईसी नेपाल लघुवित्त यही वर्ष आईपीओ निष्कासन गरेर नेप्सेमा सूचीकृत भई कारोबारमा आएको थियो। आँधिखोला लघुवित्त भने नेप्सेमा सूचीकृत भएको धेरै वर्ष भइसकेको छ।
यसअघि धौलागिरी लघुवित्तसँग मर्जर सम्झौतापछि २०७६ पुस ३ गतेबाट आँधिखोला लघुवित्तको सेयर कारोबार रोक्का भएको थियो। धौलागिरी लघुवित्तको मर्जर प्रक्रिया भाँडिएपछि झन्डै अढाइ वर्षपछि गत जेठ २७ गतेबाट आँधिखोला लघुवित्तको सेयर कारोबारमा आएको थियो। तर, सिवाईसी नेपाल लघुवित्तसँग पुनः मर्जर सम्झौता गरेको आँधिखोला लघुवित्तको सेयर कारोबार खुलेको एक महिना पनि नबित्दै फेरि गत असार २२ गतेबाट रोक्का भएको छ।
हाल नेप्सेले मर्जर र एक्विजिसन (प्राप्ति) प्रयोजनका लागि २० वटा सूचीकृत कम्पनीको सेयर कारोबार रोक्का गरेको छ। मर्जर र प्राप्ति प्रयोजनका लागि सेयर कारोबार रोक्का हुनेमा ७ वटा बीमा कम्पनी, ५ वटा वाणिज्य बैंक, ५ वटा लघुवित्त कम्पनी, २ वटा जलविद्युत कम्पनी र एउटा फाइनान्स कम्पनी छन्।
नेपाल राष्ट्र बैंकको मर्जर तथा एक्विजिसनसम्बन्धी विनियमावली २०७३ मा मर्जर तथा एक्विजिसन प्रक्रियामा रहेका कम्पनीहरुको सेयर रोक्का राख्ने व्यवस्था छ। यो व्यवस्था राष्ट्र बैंकको विनियामवालीमा भए पनि बीमा समिति र विद्युत् नियमन आयोगमा भने छैन। तर, मर्जरमा जान लागेका बीमा कम्पनीका साथै जलविद्युत कम्पनीहरुले कारोबार रोक्का गर्नका लागि नेप्सेलाई पत्राचार गर्ने गरेकाले नेप्सेले कारोबार रोक्का गर्ने गरेको छ।
मर्जर र प्राप्तिमा जाने कम्पनीहरुको लामो समयसम्म कारोबार रोक्काको लगानीकर्ताको सम्पत्ति बन्धक भएको भन्दै लगानीकर्ता, ब्रोकर, मर्चेन्टका साथै अन्य सरोकारवालाबाट चर्को विरोध हुँदै आएको छ। विरोधको बाबजुद मर्जर र प्राप्ति प्रयोगजनका लागि गरिने कारोबार रोक्काबारे नियामक निकायबाट अहिलेसम्म ठोस निर्णय हुन सकेको छैन।
मर्जरका कारण आफूहरुको सम्पत्ति बन्धक भएको भन्दै लगानीकर्ताहरु गुनासो लिएर आउने गरेको नेप्सेका एक अधिकारीले बताए। ‘मर्जर र प्राप्तिका कारण अहिले २० वटा कम्पनीका सेयर कारोबार रोक्का छ’, ती अधिकारीले भने, ‘कुनै कम्पनीको त कारोबार रोक्का भएको झन्डै २ वर्ष भइसकेको छ। हामीले सम्पर्क गर्न खोज्दा पनि उनीहरु सम्पर्कमा आउँदैनन्। हामीले हाम्रो क्षेत्र अधिकारसम्म भएका प्रयासहरु गरिरहेका छौँ।’
कारोबार रोक्काका कारण आफ्नो सम्पत्ति बन्धक भएको भन्दै अहिले लगानीकर्ताले ई–मेलका साथै नेप्से कार्यालयमा गुनासो राख्ने गरेको ती अधिकारीले जानकारी दिए।
मर्जर तथा एक्विजिसनका कारण सेयर कारोबार रोक्का भएका कम्पनी
वाणिज्य बैंकहरुमा बैंक अफ काठमाण्डू, ग्लोबल आइएमई बैंक, , मेगा बैंक, नेपाल बंगलादेश बैंक, नेपाल इन्भेस्टमेन्ट बैंकको सेयर कारोबार रोक्का छ।
त्यस्तै फाइनान्स कम्पनीमा क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको सेयर कारोबार रोक्का भएको छ।
सेयर कारोबार रोक्का हुने बीमा कम्पनीमा एभरेस्ट, हिमालयन जेनेरल, गुराँस लाइफ, प्राइम लाइफ, युनियन लाइफ, ज्योति लाइफ र सूर्य लाइफ छन्।
यसैगरी लघुवित्त कम्पनीहरुमा घोडीघोडा, नाडेप, समाज, सिवाईसी नेपाल र आँधिखोला लघुवित्त संस्था छन्।
जलविद्युत कम्पनीमा भने रिडी र रैराङ हाइड्रोपावरको सेयर कारोबार रोक्का छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago