काठमाण्डौ । देशकै पुरानो महानगर काठमाण्डौले बढाएको करको ढिलो गरी निजी क्षेत्रले विरोध जनाएको छ । 

महानगरपालिकाको महानगर परिषदले बढाएको करको निजी क्षेत्रको छाता संगठन नेपाल चेम्बर अफ कमर्सले विरोध जनाएको हो । 

महानगरपालिकाको महानगर परिषद्ले कर बढाएको हो । आर्थिक विधयेक २०७४ पारित गर्दै महानगरपालिकाले सवारीसाधनमा दोब्बर कर बढाएको छ । इञ्जिनबाट चल्ने दुईपाँंग्रे मोटरसाइकल, स्कुटर जस्ता सवारीसाधनको कर बढाएर वार्षिक चार सय रुपैयाँं पुर्याएको छ । यसअघि वार्षिक दुई सय रुपैयाँं थियो । 

‘काठमाण्डौ महानगरपालिकाको आर्थिक वर्ष २०७४।०७५ को अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न कर, शुल्क, दस्तुर र जरिवाना संकलन गर्न, छुट दिन तथा अन्य आय संकलन गर्न भनी गरिएको कर बृद्धि हामीलाई मान्य छैन’, चेम्वरद्धारा बुधबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ। 

नेपालको संविधान र प्रचलित कानुनको अधीनमा रही स्थानीय तहले आफनो कार्यक्षेत्रभित्र परिचालन गर्नसक्ने राजश्वका स्रोत, दायरा र दर समेतको विश्लेषण गर्न राजश्व परामर्श समिति गठन गरी परिमार्जन गर्नसक्ने व्यवस्था छ । गाउँं नगरपालिकाको उपाध्यक्ष वा उपप्रमुखको संयोजकत्वमा गठन हुने परामर्श समितिमा गाउँं नगरपालिकाको कार्यकारीअधिकृत, नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधि लगायत सदस्य रहने व्यवस्था छ । तर, परामर्श समिति नै गठन नगरी मनोमानी रुपमा कर बृद्धि गरिएको चेम्बरको भनाई छ ।  

नेपाल चेम्बर अफ कमर्स लगायतका निजी क्षेत्रका प्रतिनिधि सहभागी गराई राजश्व परामर्श समितिलाई पूर्णता दिएर मात्रै करको दर निर्धारण गर्न समेत अनुरोध गर्न समेत चेम्बरले आग्रह गरेको छ । साथै, निजी क्षेत्रको यो मागको सुनुवाई नगरी जबरजस्ती महानगरपालिका अगाडि बढे सम्पूर्ण उद्योगी व्यवसायीहरु आन्दोलनमा उत्रनुको विकल्प नहुने पनि चेम्बरले चेतावनी दिएको छ।