काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

दोस्रो त्रैमाससम्म कम्पनीले ६७ करोड ९१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले ४७ करोड २८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको बीमाशुल्क आर्जन ४३.३६ प्रतिशतले बढेको छ। 

समीक्षा अवधिसम्म कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आयबापत ६ करोड ७९ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्ममा यस्तो आय ४ करोड २७ लाख रुपैयाँमा सीमित थियो। 

यो अवधिसम्म कम्पनीको खुद दाबी भुक्तानी ७१०.८१ प्रतिशतले बढेर ७ करोड ३७ रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले ९० लाख ९३ हजार दाबी भुक्तानी गरेको थियो। 

दोस्रो त्रैमाससम्म कम्पनीले ५ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा २.१७ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीले ५ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

कम्पनी व्यवस्थापन खर्च ३.३८ प्रतिशतले बढेको छ। गत वर्ष यही अधिवसम्म कम्पनीको व्यवस्थापन खर्च ८ करोड ९३ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिमा बढेर ९ करोड २३ लाख रुपैयाँ पुगेको छ। 

कम्पनीको जीवन बीमा कोषको आकार ५२.६६ बढेर १ अर्ब ७३ करोड रुपैयाँको भएको छ। गत वर्ष यही अवधिमा जीवन बीमा कोषमा १ अर्ब १३ करोड रुपैयाँ रहेको थियो। 

गत वर्ष १४ करोड ७४ लाख रुपैयाँको रहेको कम्पनीको जगेडा तथा कोषको आकार बढेर २० करोड २८ लाख रुपैयाँको उचाइमा पुगेको छ। 

हालसम्म कम्पनीको कुल कायम रहेको बीमालेखको संख्या ३३ हजार ४६८ रहेको छ। गत वर्ष यही अवधिसम्म यो संख्या १९ हजार ३६८ रहेको थियो।