काठमाण्डौ । जीवन बिमा कम्पनीहरुमध्ये देशकै कान्छो कम्पनी महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमीटेडले हालसम्म नेपाली बजारमा नआएका २ वटा नयाँ प्रडक्टसहित ५ वर्षभित्र सर्वोत्कृष्ट बन्ने लक्ष्य सार्वजनिक गरेको छ । 

आगामी आइतबारदेखि औपचारिक रुपमा कारोबार सुरुवात गर्न लागेको यो कम्पनीले बिहीबार एक पत्रकार सम्मेलनको आयोजना गरी यस्तो लक्ष्य सार्वजनिक गरेको हो । 

पत्रकार सम्मेलनमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले महालक्ष्मी लाइफ इन्स्योरेन्स आगामी २ वर्षभित्र नयाँ १० कम्पनीमध्ये पहिलो हुने र आगामी ५ वर्षभित्र सबै जीवनबिमा कम्पनीमध्ये उत्कृष्ट हुने घोषणा गरेका हुन् । उनले यसको आधारको रुपमा कम्पनीले सुरुवातदेखि नै बजारमा ल्याएको नवीन प्रडक्ट, अनुभवी टिम र आक्रामक व्यवसाय बिस्तार नीतिलाई प्रस्तुत गरेका छन् । 

कम्पनीले पत्रकार सम्मेलनमार्फत २ नवीनसहित कुल ३ वटा जीवन बिमा प्रडक्ट सार्वजनिक गरेको छ । 

देशको १९ औं(कान्छो) जीवन बिमा कम्पनीको रुपमा स्थापित यो कम्पनीले बिमा समितिबाट स्वीकृति लिएर महालक्ष्मी डबल बिमा र लगानी फिर्ता म्यादी बिमा नामका २ नयाँ प्रडक्ट लञ्च गरेको हो । साथमा परम्परागत प्रडक्टको रुपमा महालक्ष्मी सावधिक बिमाको स्किम समेत सार्वजनिक गरिएको छ । 

सीइओ भट्टराईका अनुसार महालक्ष्मी डबल सावधिक बिमा योजनामा बोनसको गणना गर्नै नपर्ने गरी तोकिएको अवधि समाप्तिपछि बिमांकको दोब्बर रकम भुक्तानीको ग्यारेण्टी गरिएको छ । 

लगानी फिर्ता म्यादी बिमा योजनामा बिमाशुल्क भुक्तानी पश्चात तोकिएको अवधिमा कुनै घटना भएमा एकमुष्ट बिमांक रकम भुक्तानी पाउने र घटना नभएमा अवधि समाप्तिपछि जम्मा गरेको बिमाशुल्क जस्ताको तस्तै फिर्ता भुक्तानी हुने बताइएको छ । 

तेश्रो प्रडक्टको रुपमा रहेको महालक्ष्मी सावधिक बिमा योजना अन्तर्गत न्यूनतम बिमाशुल्कमा सुरक्षा पनि पाइने, बचत पनि हुने र कम्पनीको नाफामा समेत सरिक हुन पाइनेछ । 

कम्पनीले डबल बिमा योजना र लगानी फिर्ता बिमा योजना नेपालमै पहिलोपटक सार्वजनिक भएको बिल्कुल नौलो बिमा योजना रहेका दाबी समेत गरेको छ । 

पत्रकार सम्मेलनमा बोल्दै सीइओ भट्टराईल्े कम्पनीले माघभित्र काठमाण्डौ, वीरगञ्ज, पोखराबाट कारोबार गर्ने र फागुन दोश्रो साताभित्र इटहरी, सुर्खेत, धनगढी र कोहलपुरबाट कारोबार संचालन हुनेछ । प्रधान कार्यालय र सातवटै प्रदेशका कार्यालयको एकैदिन औपचारिक उद्घाटन गर्ने कम्पनीको योजना छ । 

कम्पनीले बिमा समितिबाट १३ वटा शाखा कार्यालयको स्वीकृति लिइसकेको छ । असारभित्र मध्य पहाडी क्षेत्रका १२ वटा र काठमाण्डौभित्र थप १० वटा समेत गरी कुल ३५ वटा शाखा कार्यालय संचालन गर्ने लक्ष्य लिएको छ ।

हाल कम्पनीको चुक्तापूँजी २०० करोड रहेको छ । जसमध्ये संस्थापकहरुबाट १४० करोड चुक्ता भइसकेको र रु. ६० करोड बराबरको आइपीओ सर्वसाधारणका लागि जारी हुनेछ । 

कम्पनीले चालु आर्थिक वर्षको अन्तसमममा करिब रु. ५० करोड बिमाशुल्क संकलनको महत्वकांक्षी लक्ष्य समेत सार्वजनिक गरेको छ ।