काठमाण्डौ । महिला लघुवित्त र ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले सेयर कारोबार आज मंगलबारबाट धितोपत्र दोस्रो बजारमा खुलेको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले तोकेको ओपनिङ रेन्जभित्र स्पेसल प्रिसेसनमा दुवै कम्पनीको सेयर कारोबार भएसँगै नियमित समयमा किनबेच खुलेको हो। प्रिसेसनमा महिला लघुवित्तको प्रतिकित्ता ४३८ रुपैयाँ र ग्रीनलाइफको २९९ रुपैयाँमा सेयर कारोबार भएको छ। 

नेप्सेले महिला लघुवित्तलाई एमएलबीएसएल कारोबार संकेत प्रदान गरेको छ। त्यस्तै पहिलो कारोबार लागि नेप्सेले यो लघुवित्तलाई ३१३.१६ रुपैयाँदेखि ९३९.४८ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको थियो।

यसैगरी नेप्सेले ग्रीनलाइफ हाइड्रोपावर ‘जीएलएच’ कारोबार संकेत प्रदान गरेको छ। त्यस्तै पहिलो कारोबारका लागि नेप्सेले यो हाइड्रोलाई ९९.६७ रुपैयाँदेखि २९९.०१ रुपैयाँ ओपनिङ रेन्ज तोकेको थियो।

यी दुवै कम्पनीको सेयर हिजो सोमबार नेप्सेमा सूचीकृत भएको थियो। नेप्सेमा कुनै पनि कम्पनीको धितोपत्र सूचीकरण भएको दोस्रो दिन अर्थात भोलिपल्टबाट सेयर कारोबारमा आउने गर्छ। सोहीअनुसार आजबाट यी दुवै कम्पनीको सेयर कारोबारमा आएको हो। 

महिला लघुवित्तले गत माघ ३० गतेबाट ४ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। जसमा ३ लाख ७५ हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिएको थियो। 

ग्रीनलाइफ हाइड्रोपावरले भने गत माघ २३ गतेबाट कुल ३४ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्कासन गरेको छ। जसमा ३२ लाख ५१ हजार ६५२ कित्ता सर्वसाधारणलाई बिक्री गरिएको थियो। 

यो समाचार तयार पार्दासम्म ग्रीनलाइफको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा बढोत्तरी भएर पोजेटिभ सर्किट लागिसकेको छ।