काठमाण्डौ । पुँजीबजारको सुधार र विकासको माग राख्दै आन्दोलनरत लगानीकर्ताले आज काठमाण्डौको माइतीघरदेखि बानेश्वरसम्म मार्चपास गरेका छन्। 

पुँजीबजार सुधार संघर्ष समितिको अगुवाइमा लगानीकर्ताहरुले मार्चपास गरेका हुन्। दिउँसो ३ बजे माइतीघरमा भेला भएका लगानीकर्ताहरु मार्चपास गर्दै बानेश्वरतिर अगाडि बढिरहेका छन्। 

मार्चपासमा सहभागी लगानीकर्ताहरुले पुँजीबजारमैत्री नीति लागू गर्न, नीतिगत भ्रष्टाचार अन्त्य गर्न, बैंकलाई ब्रोकर लाइसेन्स दिन, सीसीडी रेसिया कायम गर्न, ४–१२ को क्याप हटाउन, बोनसमा लाभांश कर हटाउन, पुँजीगत लाभकर कम गर्न, स्थिर ब्याजदर कायम गर्न, १९ बुँदे माग पूरा गर्नजस्ता नारा लगाइरहेका छन्। 

गत सोमबारबाट संघर्ष समितिको अगुवाइमा लगानीकर्ताले पुँजीबजार सुधार र विकासका लागि १९ बुँदे माग अघि सार्दै आन्दोलनरत छन्। 

आज ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयअगाडि विरोध प्रदर्शन गर्ने कार्यक्रम पनि रहेको छ।