काठमाण्डौ । माउण्टेन हाइड्रो नेपाल लिमीटेडले आज(असार २२ गते)देखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १२ लाख ५० हजार कित्ता आइपीओ निश्कासन गरेको छ । 

यो कम्पनीले १०० रुपैयाँ अंकित दरले कुल १२ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ निश्कासन गरेको हो ।

छिटोमा साउन ४ गतेसम्म र ढिलोमा साउन २० गतेसम्म यो कम्पनीको आइपीओमा आवेदन दिन सकिनेछ । 

इच्छुकले न्यूनतम ५० देखि अधिकतम ६ हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने बताइएको छ । 

निश्कासन हुने कुल कित्तामध्ये ७ लाख ५० हजार फिदिम नगरपालिका र हिलिहांग गाउँपालिकाका बासिन्दाका लागि सुरक्षित गरिएको छ भने बाँकी ५ लाख पाँचथरबासीका लागि छुट्याइएको छ ।

कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमीटेड रहेको छ । 

आइपीओपछि कम्पनीको चुक्तापूँजी १ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ । 

इक्रा नेपालले यो कम्पनीको आइपीओलाई ग्रेड फोरको रेटिङ दिएको छ । जसको अर्थ कम्पनीको अवस्था औसत भन्दा कमजोर छ भन्ने हो ।

माउण्टेन हाइड्रोले पाँचथरमा २१.६ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजना प्रभावितपछि यो कम्पनीले सर्वसाधारणका लागि समेत आइपीओ निश्कासन गर्नेछ ।