काठमाण्डौ । नियमित खर्च धान्न धौ धौ परेर महङ्गो दरमा आन्तरिक ऋण उठाउनुपर्ने बाध्यतामा रहेको सरकारले माओवादीका अयोग्य लडाकूहरुलाई ८० करोडभन्दा बढी रकम बाँड्ने भएको छ । 

माओवादी युद्धका सुप्रिम कमाण्डर पुष्पकमल दाहाल(प्रचण्ड) प्रधानमन्त्री भएको बेला अनमिनले अयोग्य घोषणा गरेका ४ हजारभन्दा बढी लडाकूहरुलाई सरकारले जनही २ लाखको दरले रकम बाँड्ने तयारी गरेको हो । 

कर्मचारीको तलब व्यवस्थापन तथा नियमित खर्च धान्न नै धौ धौ परिरहेको बेला अर्थतन्त्र सुधार्ने भन्दै चर्का भाषण दिने प्रधानमन्त्री दाहालले गठबन्धनका दलहरुलाई समेत जानकारी नदिई राज्यकोषको ८० करोड बढी पैसा बाँड्ने तयारी गरेका हुन्। 

गृहमन्त्रालयस्थित उच्च स्रोतका अनुसार अयोग्य लडाकूलाई जनही २ लाखको दरले रकम बाँड्ने गरी कार्यविधि तयार गरिसकिएको छ । 

गत चैत ६ गते बसेको मन्त्रीपरिषद बैठकले अयोग्य लडाकूलाई जनही २ लाखको दरले रकम दिने निर्णय गरेको विषय बाहिरिएको थियो । तर, प्रधानमन्त्री दाहालले यो हल्ला मात्र भएको, त्यस्तो निर्णय नभएको भन्दै गठबन्धनकै कतिपय दलका नेताहरुलाई ढाटेका थिए ।

आलोचना भई निर्णय फिर्ता गर्नुपर्ने डरले उनले यस्तो भनेका भए पनि भित्रभित्रै कार्यविधि नै तयार पारिसकिएको स्रोतको भनाई छ । 

गृह मन्त्रालयका एक अधिकारीकाअनुसार मन्त्रिपरिषद्ले रकम दिने गरी कार्यविधि बनाउन भनी निर्णय गरेपछि सोही अनुसार काम भएको र अब अयोग्य लडाकूहरुको नाम भेरिफाई गर्न सम्बन्धित जिल्ला प्रशासनहरुको सहयोग लिइनेछ । यो काम एक महिनाभित्र गरिसक्ने र नाम भेरिफाई गरिसकेपछि अयोग्य लडाकूहरुको बैंक खातामा जनही २ लाखको दरले राज्यकोषबाट पैसा पठाइनेछ । 

शान्ति प्रक्रियाको क्रममा अनमिनले माओवादी लडाकू नै नरहेकाहरुलाई अयोग्य भनी प्रमाणित गरेको थियो । अयोग्यको सूचीमा ४००८ जनाको नाम रहेको छ । यदि सबैले जनही २ लाखको दरले रकम पाउँदा पनि राज्यकोषको ८० करोडभन्दा बढी रकम खर्च हुने देखिन्छ ।