– प्रकाश न्यौपाने
काठमाण्डौ । सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो बजारमा लगानी गरेर कमाउनेभन्दा गुमाउने धेरै छन्।
विगतमा भन्दा पछिल्लो समय सेयर बजारमा लगानी गर्नेहरुको संख्या बढ्दै गएको छ। दोस्रो बजारमा पनि कारोबार हुने कम्पनीको संख्या पनि बढ्दै गएको छ।
बजार जानकार एवं पुराना लगानीकर्ता वसन्त नेपाल बजारमा लगानी गर्नुअघि धेरै कुरामा ध्यान दिनुपर्ने बताउँछन्। ‘दोस्रो बजारमा लगानी गर्दा अल्पकालीन, दीर्घकालीन, स्वपुँजी र ऋण, बजारको बुल र बियरिस कम्पनीको घाटा नाफा आदि कुराहरुमा ध्यान दिनुपर्छ’, उनले भने।
नेपाल बारा जिल्लाको कलैया उपमहानगरपालिका–५ का स्थायी बासिन्दा हुन्। उनी हाल काठमाण्डौको बसुन्धरामा बसोबास गर्छन्। एक छोरा र एक छोरीका पिता नेपाल २०५५ सालमा लक्ष्मी बैंकको आईपीओ भरेर सेयर बजारमा प्रवेश गरेका थिए। ‘त्यतिबेला मलाई लक्ष्मी बैंकको ५० कित्ता सेयर परेको थियो’, उनले भने।
दोस्रो बजारमा भने नेपाल २०६२ सालबाट प्रवेश गरेका थिए। ‘मैले करिब १५ हजार रुपैयाँको लगानीमा १३६ रुपैयाँका दरले ११० कित्ता नेपाल लाइफ इन्स्योरेन्सको सेयर खरिद गरेँ’, उनले भने, ‘पहिलो वर्षमै २० प्रतिशत बोनस सेयर खाएँ।’
त्यतिबेलादेखि नै उनी नेपाल लाइफमै अभिकर्ताको काम गरिरहेका छन्। ‘त्यसैले कम्पनीको आधारभूत पक्ष राम्ररी अध्ययन गरेर लगानी गरेको थिएँ’, उनले भने।
सेयर किनेको दोस्रो वर्ष २५ प्रतिशत हकप्रद भर्दै प्रत्येक वर्षको लाभांश खाँदै २०६५ सालमा बेचेको नेपालले बताए। ‘बजार ११७५ पुगेको बेला ५ हजार ५०० रुपैयाँका दरमा नेपाल लाइफको सेयर बिक्री गरेर १६ लाख रुपैयाँभन्दा बढी नाफा कमाएँ’, उनले भने।
बजार माथि जाँदा बेच्ने र तल आउँदा खरिद गर्ने चलाखीपूर्ण काम आफूले हरेक बुल र बियरमा गरिरहेको नेपाल बताउँछन्। ‘केही कम्पनीमा सामान्य घाटा पनि खाएको छु’, उनले भने, ‘तर, अहिलेसम्मको यात्रामा राम्रै नाफा कमाएको छु। अहिले कुनै सरकारी कार्यालयका उच्च ओहदाका कर्मचारी वा ब्रिटिस लाहुरेले पेन्सन खाएर बसेजस्तै भएको छ।’
बजारबाट राम्रो कमाएर घरपरिवारको राम्रो व्यवस्था गरेर बिना तनाव अहिले पनि कारोबार गरिरहेको नेपाल सुनाउँछन्।
अबको १० वर्षमा सेयर बजारले ठूलो फड्को मार्ने नेपालको भनाइ छ। ‘अब बजार विस्तार हुँदै जानेछ, अन्तर्राष्ट्रिय नागरिकले नेपालको सेयर बजारमा प्रवेश पाउनेछन्’, उनले भने, ‘वाईवाई, एनसेलजस्ता ठूला कम्पनीका साथै उद्योगहरुको आईपीओ निष्कासन भई दोस्रो बजारमा कारोबार हुनेछन् र विदेशमा जस्तै ब्रोकरबाट अहिलेभन्दा धेरै सुविधाहरु लगानीकर्ताले पाउनेछन्।’
बजारमा लगानीकर्ताको संख्या बढ्दै जाने, कारोबारको आकार पनि बढ्दै जाने हुनाले आधारभूत र प्राविधिक रुपमा दक्ष लगानीकर्ताले अब आउने दिनहरुमा बजारबाट राम्रो नाफा कमाउने नेपालको भनाइ छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19