काठमाण्डौ। बहुपक्षीय कर्जादाता निकाय विश्‍व बैंकले १ हजार ६१ मेगावाट(मेवा) क्षमताको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनामा लगानी गर्ने प्रतिबद्धता गरेको छ।

विश्‍व बैंककी प्रबन्ध–निर्देशक आना वियर्डेले शुक्रबार आयोजनास्थलको निरीक्षण गर्दै लगानी गर्ने प्रतिबद्धता जनाएकी हुन्। आयोजना संखुवासभाको भोटखोला गाउँपालिकामा पर्छ।

सो अवसरमा विश्‍व बैंककी प्रबन्ध–निर्देशक वियर्डेले भनिन्,  ‘आयोजना अगाडि बढाउन स्थानीय लगायत सबै पक्ष आतुर रहेको पाएकी छु,’ उनले भनिन्, ‘सबै पक्षलाई फाइदा हुने गरी आयोजनामा लगानी गर्न बैंक तयार छ।’

यसैगरी अर्थमन्त्री महतले  आयोजना निर्माणका लागि विश्‍व बैंकसमक्ष अनुदान र सहूलियतपूर्ण ऋण उपलब्ध गराउन आग्रह गरेको बताए । उनले भने, ‘यो देशका लागि अत्यन्त महत्वपूर्ण आयोजना हो। अब लगानी जुटाउने तहमा पुगेका छौं’ ।त्यस्तै ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री बस्नेतले आयोजना तत्काल अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको बताए।

आयोजनामा नेपाल सरकार, प्रदेश सरकार, आयोजना प्रभावित जिल्लाका स्थानीय तह, आयोजना प्रभावित जिल्लाबासी, देशभरका सर्वसाधारणको सेयर लगानी, अन्तरराष्ट्रिय वहुपक्षीय विकास साझेदारको सहुलितपूर्ण ऋण र स्वदेशी बैंक तथा वित्तीय संस्थाको ऋण लगानी रहने छ।

विश्‍व बैंकको नेतृत्वको अन्तरराष्ट्रिय वित्तीय संस्थाबाट ७५ करोड डलर सहुलितपूर्ण ऋण जुटाइने छ। ४० करोड डलर स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट जुटाएर वित्तीय व्यवस्थापन गर्ने योजना छ।

यसका लागि हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलप्मेन्ट कम्पनी (एचआईडीसीएल) को नेतृत्वमा स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट सहवित्तीयकरणमार्फत लगानी जुटाउन समझदारीपत्र (एमओयू) भइसकेको छ ।

करिब ६४ अर्ब रुपैयाँ इक्विटीमध्ये ५१ प्रतिशत रकम आयोजनाको प्रवर्धक अपर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनीका संस्थापक शेयर र ४९ प्रतिशत आईपीओबाट संकलन गरिने छ। करिब ३२ अर्ब रुपैयाँको साधारण सेयर निष्कासन गर्ने योजना छ। सन् २०२४ को जुनभित्र वित्तीय व्यवस्थापन गरी सन् २०२५ को मध्यबाट आयोजनाको निर्माण शुरु गर्ने लक्ष्य छ।

आयोजनको अनुमानित लागत १ अर्ब ७५ करोड अमेरिकी डलर (करिब २ खर्ब १४ अर्ब) रुपैयाँ खर्च हुने अनुमान छ। त्यसमध्ये ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजी (इक्विटी) बाट जुटाउने योजना छ।